तुलसीपुर, साउन १० । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले स्नातक तहमा व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित कलेजले यसै शैक्षिक सत्रबाट बिएचटिएम र विविए कार्यक्रम सञ्चालन गर्न लागेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए ।
आचार्यले तुलसीपुर क्षेत्रमा पहिलो पटक यसखालको कार्यक्रम सञ्चालन गर्न लागिको बताए । अबदेखि विद्यार्थीलाई अध्ययन गर्नका लागि ठाउँ नै छाड्नुपर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास ब्यक्त गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीप्रसाद भट्टराइले नेपालमा पर्यटन र होटेलको क्षेत्रमा सम्भावना बढ्दै गएकाले यस क्षेत्रको कार्यक्रम सञ्चालनमा विश्वविद्यालयले चासो दिएको बताएका थिए । उनले विद्यार्थीलाई किताबी ज्ञान भन्दा बढी प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने बताएका थिए ।
विश्वविद्यालयका शैक्षिक कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले विभिन्न देशका विश्वविद्यालयसँग विद्यार्थी साटासाट कार्यक्रम मार्फत विद्यार्थीलाई अध्ययनका क्रममा अन्य देशमा पनि पठाउने बताएका थिए ।
कार्यक्रममा विविए कार्यक्रमा बारेमा बन्दना शर्मा, मनोज केसीले र बिएचटिएमका बारेमा विवेक अधिकारी र कमल पन्थीले जानकारी दिएका थिए ।
