दाङ, साउन ५ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन थालेका छन् । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
प्रदेशसभाको चौथो अधिबेशनको २४औं बैठक आज बस्न थालेको हो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले साउन ३ गते नै बैठक बस्ने बारे सार्वजनिक सूचना जारी गरेका थिए ।
मुख्यमन्त्री महरा सरकारको छिनोफानो आजकै बैठकबाट हुने संभावना छ ।
प्रदेशसभालाई सम्बोधन गरि सकेपछि विश्वासको मत लिने प्रस्ताब फिर्ता लिएर आजै महराले राजीनामा दिन सक्ने संभावना रहेको छ ।
नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजित थारुले त्यस्तै संकेत गरेका छन् । मुख्यमन्त्रीको आजको कदम पछि बल्ल लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका ५ मन्त्रीले पदबाट राजीनामा दिदै असार २० गते महरालाई दिएको समर्थन फिर्ता लिएका थिए । सोही दिनदेखि नै महरा स्पष्ट अल्पमतमा परि सकेका थिए ।
गत चैत २३ मा रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादीका नेता महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री महराको साथमा यतिखेर माओवादीका १०, एकीकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चाका १ समेत गरि जम्मा १२ सांसदको मात्रै समर्थन छ । एक स्वतन्त्र सांसदले अर्निणित छन् ।
पछिल्लो बिकसित राजनीति अनुसार प्रमुख सत्ता साझेदार दल एमालेका साथै नेपाली काँग्रेसले महरालाई पदबाट राजीनामा दिइ मार्ग प्रसस्त गर्न आग्रह गर्दै आएका छन् ।
यी दुई दलले आजको प्रदेशसभा बैठकमा महराका बिरुद्ध उभिन आफ्ना सांसदलाई ह्विपसमेत जारी गरि सकेको छन् ।
लुम्बिनीमा एमालेका २९ सांसद छन् भने अर्कौ सत्ता साझेदार दल कांग्रेसका २७ सांसद छन । यी दुई दलहरुको मात्रै ५६ सांसद पुग्छन् । दुई ठूला दलले मात्रै सरकार बनाउन कुनै समस्या छैन ।
दुई ठूला दलले मिलेर सरकार बनाउने निश्चित अन्य साना दलहरुले पनि सघाउने अवस्था देखिएको छ ।
लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ ÷ ४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी (विभाजित हुनुअघिको) ३ ÷ ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १ ÷ १ जना र १ स्वतन्त्र गरी ८७ सांसद छन ।
कुल १० वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।