दाङ, जेठ २८ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन् । घाइते मध्य दुइको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परि बर्दियाको ठाकुरबाबा नगरपालिका–५ का २७ बर्षीय सौगात विक, सुर्खेतको बराहताल गाउँपालिका–५ का १९ बर्षीय जितबहादुर कार्की र सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेलकुनाका चालक धर्मेन्द्र श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनामा परि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलिप थापा र सोही ठाउँको कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन् ।
उनीहरु सबैलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।
मुसिकोट नगरपालिका–१ निपानेमा कर्णाली प्रदेश ०२–००१ च ०४१३ नम्बरको बोलेरो आइतबार राति साढे ८ बजे दुर्घटना परेको थियो ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार जीप सदरमुकाम खलंगाबाट बाँफिकोटको सिमखेततर्फ जाँदै थियो। वल्र्डलिंक कम्युनिकेशनको फाईबर तार बिस्तारका लागि तार ठेक्का पाएको कम्पनीका कर्मचारी जीपमा सवार थिए ।
दुर्घटनाको कारण थाहाँ भइ नसकेको प्रहरीले जनाएको छ ।