२०८३ असार २८ गते आइतवार

हावाहुरीले छानो उडाउँदा विद्यालय तथा स्वास्थ्य चौकीको सेवा प्रभावित


राजकुमार ओली
सल्यान, जेठ २२ ।
आइतबार बेलुका आएको हावाहुरीका कारण सल्यानको दार्मा गाउँपालिकामा ठूलो धनराशीको क्षति भएको छ । हावाहुरीले स्थास्थ्य चौकी, विद्यालयलगायत स्थानीयका घरका छानाहरु उडाउँदा छ लाख बढीको क्षति भएको दार्मा गाउँपालिकाका उपाध्यक्ष टीका शर्मा ओलीले जानकारी दिए । हावाहुरीका कारण ढाकाडाम स्वास्थ्य चौकी दार्मा ५ त्रिवेणीको दुईवटा भवनको सम्पूर्ण छानो उडाएको छ ।

क्षतिका कारण स्वास्थ्य चौकीको सेवा प्रभावित भएको बताइएको छ । सेवाग्राहीलाई कम्पाउण्डबाट सेवा उपलब्ध गराइरहेको स्वास्थ्य चौकी प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए । त्यसैगरी दार्मा ५ मा रहेको श्री विश्वेश्वर आधारभूत विद्यालयको भवन, दार्मा ६ को श्री लक्ष्मी आधारभूत विद्यालय ज्यामिरेचौरको भवन, दार्मा २ भुसखोलाको श्री जनकल्याण प्राथमिक विद्यालयको भवनमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय फारुलाचौरले जनाएको छ ।

विद्यालयमा भएको क्षतिका कारण विद्यार्थीहरुको पढाइसमेत प्रभावित भएको छ । हावाहुरीका कारण सबैभन्दा बढी क्षति ढाकाडाम स्वास्थ्य चौकीमा भएको छ । स्वास्थ्य चौकीका दुईवटा भवनमा क्षति हुँदा झण्डै १ लाख ७९ हजारको क्षति भएको बताइएको छ । त्यसैगरी ३ वटा विद्यालयमा १ लाख ६२ हजार ४ सयको क्षति भएको छ ।

श्री लक्ष्मी आधारभूत विद्यालय दार्मा ६ मा ६७ हजार, श्री विश्वेश्वर आधारभूत दार्मा ५ मा ३१ हजार ४ सय, श्री जनकल्याण प्रावि दार्मा २ मा ६४ हजारको क्षति भएको छ । त्यसैगरी गाउँपालिकाका विभिन्न व्यक्तिहरुको घरमा समेत क्षति पुगेको छ ।

क्षति हुनेहरुमा दार्मा गाउँपालिका २ बस्ने सीता खत्रीको घरमा७१ हजार रुपैयाँ, प्रदीप पाण्डेको घरमा ३३ हजार रुपैयाँ, गणेश पाण्डेको घरमा ९ हजार रुपैयाँ, बमबहादुर केसीको घरमा ३२ हजार रुपैयाँ, रिमा केसीको घरमा ९ हजार पाँच सय रुपैयाँ, शिवलाल कामीको घरमा २२ हजार पाँच सय रुपैयाँ, गोर्खे कामीको घरमा १७ हजार पाँच सय रुपैयाँको क्षति भएको ईलाका प्रहरी कार्यालय फारुलाचौरका प्रमुख ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

त्यसैगरी वडा नं. ५ का इन्द्रा केसीको घरमा ४० हजार रुपैयाँ, खिरमा खड्काको घरमा २८ हजार रुपैयाँ, डिलबहादुर खड्काको घरमा ३४ हजार रुपैयाँको क्षति भएको सिंहले जनाए । घटनास्थल गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुन, ईप्रका फारुलाचौरबाट गएको प्रहरी, जनप्रतिनिधि सहितको टोलीले क्षतिको पूर्ण विवरण सङ्कलन गरेको थियो ।

हावाहुरीका कारण क्षति भएका नागरिकलाई तत्काल आवासको सहजताका लागि गाउँपालिकाले त्रिपाल वितरण गरेको छ । आवश्यक थप सहयोगका लागि गाउँपालिकाले पहल गर्ने उपाध्यक्ष शर्मा ओलीले बताइन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *