तुलसीपुर, जेठ ६ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गृहमन्त्री रबी लामिछानेलाई संसदमा बोल्न पाउनु पर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आइतबार तुलसीपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले एउटा राजनीतिक दलको अध्यक्षले आँफुमाथि लागेका आरोपका बारेमा संसदमा बोल्न नपाउनुलाई उचित मान्न नसकिने बताएका थिए ।
नेपाली काँग्रेस जत्तिको पुरानो दललले संसदमा बोल्न नदिनका लागि गरेका सबै प्रयासहरु कुनैपनि अर्थमा उचित मान्न नसकिने उनले दाबी गरे ।
जनताले निर्वाचित गरेर राष्ट्रिय दलको मान्नेता पाएको दलका सभापतिले आँफुमाथि लागेका आरोपका बारे संसदमा उभिएर बोल्छु भनिरहँदा काँग्रेसले रोक्नु उचित नभएको महासचिव पोख्रेलले बताए ।
निर्दोश मान्छे फस्न नहुने र गल्ती गर्ने उम्किन नहुने मान्नेता आफ्नो पार्टीको रहेको भन्दै महासचिव पोख्रेलले गल्ती गरेको जो कोही मान्छेको लागि साच्छी वा सहयोगी एमाले नबस्ने स्पष्ट पारे ।
तर कसैले लगाएको आरोपकै आधारमा मानिसलाई दोषी करार गरिनु उचित नहुने बताए ।
सहकारी घोटाला प्रकरण बारे राज्यका निकायले छानविन गरिहेको भन्दै महासचिव पोखरेलले त्यो प्रक्रियामा त्रुटी देखिएको खण्डमा बिकल्प खोज्नु उचित हुने बताए ।
छानविनको प्रक्रिया नटुङगिदै अविश्वास गर्ने कार्य उचित मान्न नसकिने उनको तर्क थियो ।
चौतारिका जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष दिप्तीशिखा चौधरी र सहजीकरण गोकर्ण पौडेलले गरेका थिए ।