२०८२ मङ्सिर २२ गते सोमवार

स्यानेटरी प्याड बनाउन महिलालाई तालिम


सल्यान, १३ जेठ ।
घरायसी कपडाको प्रयोग गर्दा निम्तिने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि सल्यानको कपुरकोट गाउँपालिकाले महिलाहरुलाई प्याड बनाउन सिकाएको छ । ६ वटै वडाबाट २५ जना महिला सूचीकारहरुलाई छनौट गरेर गाउँपालिकाले सुआहारा सल्यानसँगको सहकार्यमा दुई दिने स्यानेटरि प्याड बनाउने तालिम प्रदान गरेको हो ।

आइतबार र सोमबार भएको तालिममा कपडाको प्याड बनाउन सिकेको कपुरकोट ६ सिनवाङ सल्यानकी भूमिसरा साहुले जनाइन् । उनले भनिन्, ‘अब बजारमा प्याड किन्नका लागि हुने खर्च जोगिने भएको छ । आफै प्याड निर्माण गरेर प्रयोग गर्छु र अरुलाई समेत बिक्री गर्ने गरी उत्पादन गर्छु ।’ एउटा प्याड पाँच मिनेटमै तयार गर्न सकिने जनाउँदै भूमिसराले दिनमा तीन सय जति निर्माण गर्न सकिने जनाइन् ।

तालिम समापन कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले सिप विकासका यस्ता कार्यक्रमले महिलाहरुको आर्थिक अवस्था उकास्ने जनाउँदै ब्यवसायीक निरन्तरताको आवश्यकता औँल्याए । सुआहाराका किरण ढुंगानाले स्यानेटरी प्याडको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए ।

तालिममा सहभागी मुलपानी निवासी मैना पुनले घरमै खेर गैरहेका कपडाबाट महिनाबारीको समयमा प्रयोग हुने प्याड बनाउने तरिका सिकाएकोमा गाउँपालिकालाई धन्यवाद दिइन् । रीम निवासी तिला घर्तीले महिलाहरुले प्रयोग गर्ने प्याड घरमै बनाउन सहज र सस्तो पर्ने भएकाले यसको उत्पादन र प्रयोग गर्ने प्रतिवद्धता जनाइन् ।

समापन कार्यक्रममा प्रशिक्षक विमला खान ठकुरी, कपुरकोट गाउँपालिकाका आइटी इन्जिनियर बुद्धिराज पौडेल, इन्जिनियर भूपेन्द्र यरीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *