२०८३ बैशाख १५ गते मङ्गलवार

खानेपानीको समस्या समाधान गर्दै गाउँपालिका

दिप्तीशिखा चौधरी
दंगीशरण (दाङ), १३ जेठ ।
दंगीशरण गाउँपालिका वडा नम्बर ५ स्थित डाँडाचिसका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । वडाका डाँडाचिस, खलुवाचिस गरी जम्मा ११ टोलका स्थानीय बासिन्दाहरु खानेपानीको समस्यामा परेका हुन् । चैत महिनासम्म कुवाको पानी खाए पनि बैशाख महिनादेखि कुवाँ सुक्दा खानेपानीको अभाव हुने गरेको स्थानीयहरुले बताएका छन् ।

कुवामा पानी भर्दै गरेकी खलुवाचिसकी जानकी चौधरीले खानेपानीका भर्नका लागि बिहान ३ बजे नै उठ्नुपर्ने बाध्यता रहेको बताईन् । चौधरीले भनिन् ‘बिहान दुई÷तीन बजे नउठेर कामै छैन । कुवा सुकिहाल्छ, के खाने ? बिहान भरेको पानी साँझसम्म पु¥याउनुपर्छ, फेरी अर्को दिन बिहान उठ्ने हो पानी भर्न यस्तो नगरेर कामै चल्दैन ।’

ममता चौधरी कुवाबाट धमिलो पानी निकाल्दै थिईन् । भाँडा पखाल्नका लागि भए पनि यहि पानी लग्छौँ उनले भनिन् । खानेपानीको समस्यामा गुज्रदै आएका स्थानीयहरु छिट्टै खानेपानीको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । यता वडा नम्बर ५ का अध्यक्ष दिपक गौतमले गत बर्ष वडाबाटै १२ वटा कुवा खनेर खानेपानीको समस्या समाधान भए पनि यो बर्ष लामो खडेरी परेका कारण अझ समस्या थपिएको बताए ।

यो बर्षको योजनामा वडाबाट खानेपानीलाई मुख्य प्राथमिकतामा पारेर योजना तर्जुमा गराईने उनले बताए । यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले खानेपानीका लागि केन्द्रमा गएर पहल गर्ने बताए । उनले भने ‘केन्द्रबाट एउटा ट्यांकी निर्माण प्रक्रियामा छ त्यसबाट खानेपानीको समस्यामा रहेका वडाबासीलाई खानेपानी पुग्छ नपुगेको खण्डमा खानेपानीको समस्यालाई जसरी भएपनि समाधान गर्नतिर लाग्नेछु ।

अबको योजनामा वडाका सातवटै वडामा बाटोघाटो, सिंचाई सँगसँगै खानेपानीको ब्यवस्था गर्नतर्फ लागेको छु ।’ लौवस्तामा केन्द्रबाट ३ करोड ९९ लाखको लागतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले २ लाख २५ हजार लिटर पानी अटाउन सक्ने क्षमताको ट्यांकी निर्माण गर्न लागेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोद बस्नेतले बताए ।

निर्माण कार्य पूरा नभएकाले अहिले एउटा डिप बोरिङ जडान गरेर प्रति सेकेन्ड ३ लिटरका दरले नजिकैका घरलाई पानी वितरण गरिरहेको उनले बताए । ट्यांकी निर्माणपछि लौवस्ता, खलुवाचिस, देवीगंज, डाँडाचिस र सलौराका स्थानीयबासीलाई सहजरुपमा पानी पुग्ने अध्यक्ष बस्नेतले जनाए । पानी ट्यांकी निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

त्यस्तै वडा नम्बर २ मा पनि स्थानीयहरु खानेपानीको समस्यामा परेका छन् । वडा नम्बर २ स्थित कौवाघारी र गिदरभरीयाका स्थानीयहरु खानेपानीको समस्याबाट गुज्रिएको धेरै बर्ष भईसकेको छ । मूलबाट आउने सानो धारामा पानी भरीरहेकी मन कुमारी खत्रीले बाटो बनाउनुभन्दा पहिले खानेपानी पु¥याउन जरुरी रहेको बताईन् ।

भाँडामा पानी जम्मा गर्दै नुहाईरहेकी निमा चौधरीले खानेपानी तीन महिनासम्म पानीको हाहाकार भएको भन्दै जीविका चलाउन हम्मेहम्मे भईसकेको बताईन् । वडा अध्यक्ष तुल्सीराम देवकोटाले वडामा खानेपानीको समस्या भएको महशुस गरेको भन्दै गत बर्ष वडामा ६ वटा ईनार निर्माण गरिएको र यो बर्ष चारवटा ईनार निर्माण प्रक्रियामा रहेको बताए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *