२०८३ असार ६ गते शनिवार

कृत्रिम जलासयबाट फाईदै फाइदा

दाङ, जेठ ११ । दाङको घोराही उपमहमानगरपालिका वडा नं. १७ ढिकपुर निवासी ३० बर्षीय भागिराम चौधरीले पछिल्लो समय खेतिपाती गरिरहेका छन् । ११ बर्षदेखिको जागिर जीवन त्यागेर चौधरी गत वर्षदेखि आधुनिक तरकारी खेतिमा लागेका छन् । घोराही उपमहानगरपालिकाले निर्माण गरिदिएको कृत्रिम जलासयवाट गाउँमा बाह्रैमास सिंचाईको सुविधा पुग्न थालेपछि जागिर जीवत त्यागेर उनी तरकारी खेति तर्फ आर्कषित भएका हुन । भागिरामले भने – ‘ जागिर खाँदा एक महिना कुरेपछि मात्रै तलव आउँछ, यहाँ तरकारी हुर्केपछि दैनिक त्यति पैंशा कमाउन सकिन्छ ।’ जागिर भन्दा बढी कमाई तरकारी खेतिवाट हुने हुँदा आफुले जागिर छोडेर कृषि पेशा अंगालेको भागिरामले बताए ।

भागिराम मात्रै हैन, ६ बर्षदेखि विदेश बस्दै आएका ३५ बर्षीय भिमबहादुर चौधरीपनि पछिल्लो समय घर फर्किएर गाउँमै तरकारी खेति गरिरहेका छन् । ढिकपुरमा बहुउदश्य जलासय निर्माण भएपछि गाउँका सबैले खेतिपाती गर्न थाले । गाउँ घरमै रोजगारीका अवसरहरु सृजना भए । घर परिवार संगै बसेर पनि विदेशको जति कमाउन सकिने भयो । त्यही भएर भिमबहादुरका परिवारले उनलाई फेरिएको गाउँको बारेमा बताएपछि उनी कतारवाट फर्केर हाल तरिकारी खेति गरिरहेका छन् । त्यसभन्दा पहिला उनी मलेसियामा थिए । ‘ घर परिवारले सबैको खेतबारीमा तरकारी लटरम्म फलेको छ, तर, हाम्रो खेतवारी भने बाँझै छ । अब ताल बनिसक्यो बाह्रैमास खेतिपाती गर्न सकिन्छ । तपाँई विदेशवाट फर्केर आउनुहोस भनेपछि म फर्केर आएको हुँ,’ भिमबहादुरले भने । उनले ताल गाउँलेहरुका लागि आयआर्जनको माध्यम बनेको तथा त्यसले बाह्रैमास खेतिपाती गर्न सजिलो भएको हुँदा बर्दान सावित भएको भन्दै खुसी साटे । भागिराम र भिमबहादुर दुबैको खेतवारीमा आज लौका, काँक्रा, खुर्सानी, सिमी, बोडी,टमाटर लगाएको तरकारी लोभलाग्दो गरि लटरम्म फलेको छ । भागिरामले भने – ‘मैले आजमात्रै घोराही बजारमा लगेर टमाटर बेचेर फर्के । एकै दिन दश हजार ल्याएर आए । मेहनत गर्न सके तरकारी खेतिवाट राम्रो फाईदा लिन सकिन्छ।’

थारु बहुल क्षेत्र रहेको ढिकपुर गाउँमा आज सबैको खेतवारीमा तरकारी खेति छ । जाँगर भएका कसैको खेत बाँझो छैन । जतिबेला चाह्यो त्यतिबेला कृतिम तालवाट खेतवारीमा पानीको सिंचाईको व्यवस्था छ । तरकारी खेतिले गर्दा गाउँ नै हराभर देखिन्छ । यो कृतिम जलासय निर्माण हुनु भन्दा पहिले भने यहाँ उजाड हुने गर्दथ्यो । सुख्खा मौसममा कुनैपनि खेति गर्न संभव थिएन । आज कृतिम जलासय निर्माण भएपछि यहाँका किसानले अन्नवालीको खेति गर्न छोडेर आधुनिक तरकारी खेति तर्फ अग्रसर भइरहेका छन् । गरेपनि उनीहरु थोरै जग्गामा मात्रै आफुलाई खान पुग्नेजति मात्रै अन्नबालीको खेति गर्ने गरेका छन् । ‘फाईदा जे बाट हुन्छ त्यही खेति गर्ने हो,’ ४२ बर्षीया रुपनी चौधरीले भनिन् ‘परम्परागत अन्नवालीको खेतिगर्नु भन्दा आधुनिक तरकारी बाट धेरै नै फाईदालिन सकिदो रहेछ।’ उनले ३÷४ कठ्ठामा तरकारी खेति गर्नेले एक सिजनमा सबै खर्च कटाएर मज्जाले एकलाख रुपैंया बढी बचत गर्न सक्ने जानकारी दिइन । रुपनीको खेतवारीमा पनि आज अरुको जस्तै गरि टमाटर, करेला, सिमी लगाएत विभिन्न जातका तरकारी लटरम्म फलेका छन् ।

कृतिम जलासयवाट गाउँमा बाह्रैमास सिंचाईको सुविधा पुगेपछि अहिले आएर गाउँको परिचय नै फेरिन थालेको छ । ढिकपुर यतिबेला उत्पादनको दृष्टिकोणले कृषि पकेट क्षेत्रको रुपमा परिचित हुँदै गएको छ । घोराही नगरले पनि गाउँको परिचय त्यसैगरी दिन थालेको छ ।

गाउँमा जलासय निर्माण पछि ढिकपुर गाउँबाट कामको खोजिमा विदेशीने क्रम पुरै रोकिएको छ । अहिले यो गाउँबाट एकजना पनि विदेश गएको व्यक्ति छैन । ढिकपुर ताल संरक्षण समितिका अध्यक्ष ४३ बर्षीय किरण चौधरीले ताल निर्माण नहुँदा र ताल निर्माण पछिको आएको सकारात्मक परिवर्तनको कुरा गर्दा पत्यार नलाग्ने कथा समान हुन थालेको बताए । ‘पहिला पानीको हाहाकार हुनेगर्दथ्यो । नुहाउने,लुगाधुनेदेखि मानिस लगाएत गाईबस्तु, चराचुरङ्गी सबैले पानीको चरम संकट बेहोर्नु परेको थियो । तर, ताल निर्माण पछि आज त्यो समस्या टरेको छ,’ चौधरीले भने ‘यो जेठ महिनामा पनि ढिकपुर तालमा ७÷८ मिटर सम्म गहिरो पानी छ । मान्छे र जीव जन्तुलाई कसरी जोगाउने भन्ने चिन्ता छ।’ बर्षे र हिउँदे बाली मात्रै हुने ढिकपुरमा ताल निर्माणले पछिल्लो समय बाह्रैमास खेतिपाती हुन थालेको उनले बताए । ‘ बैशाख जेठमा त यहाँ धुलो उड्ने बाँझै खेतवारी मात्रै हुन्थ्यो,केही उत्पादन गर्न संभव थिएन,’ चौधरीले थपे ‘तर, आज सबैका खेतवारी हराभरा छन् । कति मनमोहक दृष्य देखिन्छ।’

सिंचाईका साथै तालहरुमा माछा पाल्ने कामपनि हुँदै आएको छ । घोराही नगरले बनाई दिएको आरोग्य ड्याममा हुर्किका माछा जेठको पहिलो सातामा मारिएको हो । कृतिम ताल निर्माण गरेपछि गर्न सक्नेलाई फाईदा फाईदा भइरहेको ६५ बर्षीय प्रकाश दाहालले बताए । माघ फागुनदेखि नै पानीको चरम अभाव हुने स्थानमा आरोग्य ड्याम निर्माण पछि आज बाह्रैमास सिंचाईको सुविधा पुगेको उनले बताए । आरोग्य ड्याम घोराही नगरको सबैभन्दा पुरानो कृतिम जलासय हो । यो निर्माण गरिएको झन्डै ८ बर्ष पुग्न थालेको दाहालले जानकारी दिए । तर पछिल्लो समय बृहत सिंचाई आयोजनाको रकम थपेर त्यसलाई थप व्यवस्थित र फराकिलो बनाइएको उनले बताए । ‘आज कसैले मकै लगाएका छन् । कसैले विभिन्न तरकारी खेति गरिरहेका छन् । धानको व्याड राख्ने देखि हिउँदेबालीमा समेत यही तालवाट सिंचाई हुँदै आएको छ ,’ दाहालले भने ।

दाहाल जस्तै स्थानीय धेरै किसानले कृतिम जलासय बाट काईदाको फाईदा भएको हुँदा त्यो किसानका लागि बर्दान सावित भएको तर्क गरे । घोराही नगरका १९ वटा वडा मध्य वडा नं. १७ मा मात्रै ६ वटा यस्ता कृतिम जलासय निर्माण गरिएका छन् । वडा नं. १७ की वडा सदस्य रेमन्ता पुन मगरले जलासय निर्माणले जनताको सम्वृद्धिको आधार तय गरेको तर्क गरिन । ‘हाम्रो वडाले यो आर्थिक वर्षमा पनि कुल बजेटको २० प्रतिसत रकम कृषिकै लागि भनेर छुट्याएको छ,’ मगरले भनिन् ‘ ताल निर्माण गरेर हामी जनतालाई स्वावलम्बि बनाउन चाहान्छौं।’ कृषि बाटै संवृद्धि संभव भएको तथा त्यो आयस्तर बढाउने सबैभन्दा उपयुक्त माध्यम भएको हुँदा कृतिम जलासय निर्माणमा जोड दिएको उनले बताइन । जलासय निर्माणले गर्दा वातावरणिय संतुलन कायम गर्न संभव भएको, पिकनिक स्पटका रुपमा विकास गर्न सकिएको तथा विभिन्न जातका चराहरु आएर बस्न थालेको उनले तर्क गरिन । ‘ जलासयले निर्माणले पानीको रिचार्ज भएको छ । यसअघि सुक्ने कुँवा सुक्न थालेको छन् । त्यसले सबैभन्दा बढी पानी पँधेरो गर्ने, लुगालत्ता धुनुपर्ने महिला दिदी बहिनीलाई फाईदा भएको छ,’ मगरले भनिन् ।

कटही नमुना ड्याम जल उपभोक्ता संस्थाको पानीले गाउँभर सिंचाईको प्रवन्ध गर्न हाल धमाधम गाउँभर पाईप विच्छाउने काम भइरहेको ३९ बर्षीय छल्लु चौधरीले जानकारी दिए । यो ताल बृहत सिंचाई आयोजनाको लगानीमा निर्माण भइरहेको उनले बताए । ‘गतसाल ६० लाख खर्चेर निर्माण गरिएको हो । यसपाली फेरि सिंचाईको लागि गाउँमा पाईपलाईन विच्छाउने, २ वटा ओभरहेड ट्याङ्की निर्माण गर्ने, थ्रिफेसको विद्युत तार तान्ने, ट्रान्सफर्मर स्थापना गर्ने जस्ता कामहरु गर्न बाँकी नै छ,’ चौधरीले भने ।

उनले पनि कटही ड्याम निर्माणले गाउँ घरमा सिंचाईदेखि अन्य प्रयोजनका लागि पानीको जोहोगर्न धेरै सहज भएको प्रतिकृया दिए ।

घोराही उपमहानगरमा २ बर्षको अवधिमा नयाँ र पुराना गरि १८ वटा कृतिम जलासय निर्माण गर्दा करोडौंको खर्च गरिएको छ । गत साल १२ ताल निर्माण गरिएको थियो भने यसपाली ६ वटा तालहरु निर्माण भइरहेको छ । कति निर्माण संपन्न भइसकेका छन् भने कति निर्माणधिन अवस्थामै रहेका छन् । एउटा ताल निर्माणमा कम्तिमा ३० लाखदेखि बढीमा १ करोड बढी खर्च गरिएको छ । आगामी बर्ष थप जलासय निर्माण गर्ने योजना तय गरिएको छ । प्रदेश सरकार र घोराही नगरको आयोजनामा ती तालहरु निर्माण गरिने घोराहीका मेयर नरुलाल चौधरीले जानकारी दिए ।

नगरका १९ वटै वडाहरुमा कृतिम जलासय निर्माण गरेर नगरवासीलाई संवृद्धिको यात्रामा डोर्याउने उदेश्य रहेको मेयर चौधरीले बताए । जलासय निर्माणले भविस्यमा घोराही नगरलाई आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले विकास गर्न सकारात्मक टेवा पुग्ने अपेक्षा उनले गरे ।

नेपाल जलस्रोतको विश्वमै धनी देश मध्यको एक हो । तरपनि नेपालले पानीको उचित प्रयोग गर्न नसक्दा अधिकाँस भूभागका खेतवारी बाँझैं छन् । त्यसले गर्दा रोजगारीको सृजना गर्न सकेको छैन । त्यही भएर युवा शक्ति विदेश पलायन हुने क्रम रोकिएको छैन । घोराही नगरले प्रस्तुत गरेको नमुना कार्यको सिको सर्वत्र हुन सके यस्ता सुखद खवरहरु देशभरी नै थपिदै जानेमा कसैको दुई मत नहोला ।

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *