दाङ, माघ २५ । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन अन्तिम साता ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ हुने भएको छ ।
उक्त शिखर सम्मेलनमा नौ जना नोबेल शान्ति पुरुकार बिजेता लुम्बिनी आउने निश्चित भइ सकेको छ । त्यसबारे ‘लरिएट्स एन्ड लिडर्स’ले आफ्नो आधिकारिक पेजमा लुम्बिनीमा हुने शिखर सम्मेलनबारे आधिकारिक जानकारी दिइ सकेको छ ।
शिखर सम्मेलनमा नौ जना नोबेल शान्ति पुरस्कार विजेतासँगै बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार लगायत २० जना बढी विदेशी विशिष्ट व्यक्तिको सहभागिता रहने छ ।
त्यस्तै सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारी गरी नेपालका दुई सयभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहने लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
शिखर सम्मेलन लुम्बिनी प्रदेश सरकारले गर्न थालेको र यसले लुम्बिनीको विश्वव्यापी प्रचार प्रशारका साथै बिकासमा अतुलनिय योगदान पुग्ने मुख्यमन्त्री चौधरीले बताए ।
‘हालसम्म संघीय सरकारले गर्न नसकेको सम्मेलन लुम्बिनी प्रदेशको पहलमा हुने निश्चित भएको छ,’ उनले भने ‘ यो शिखर सम्मेलन पछि एक पटक फेरि नेपाल र लुम्बिनी प्रदेशको चर्चा परिचर्चा विश्वमा फैलिने छ ।’
शिखर सम्मेलनका लागि प्रदेश सरकारले ६ करोड ५० लाख रुपैंया विनियोजन गरि सकेको छ ।
बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिन, लुम्बिनीको विकासमा विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले रहेको नेपाली काँग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीले बताए ।
प्रदेश सरकारले चौथो अन्तराष्ट्र्रिय बालबालिका, विकास र शान्तिका लागि उक्त शिखर सम्मेलन गर्न थालेको उनले जानकारी दिए ।
लुम्बिनीलाई विश्वभर चिनाउने र विकासको लागि साझेदारहरूको ध्यान आकर्षित गर्ने उदेश्य रहेको उनले जानकारी दिए ।
बुद्धजन्म स्थल लुम्बिनीबाट बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिनुको साथै लुम्बिनीको महत्वलाई विश्वभर फैलाएर विकासमा साझेदार भित्र्याउने उद्देश्य रहेको मुख्यमन्त्री चौधरीले बताए ।
यति धेरै विशिष्ट व्यक्तिहरूको सहभागितामा यस्तो शिखर सम्मेलन नेपालमा यसअघि कहिलै नभएको भन्दै मुख्यमन्त्री चौधरीले शिखर सम्मेलन पछि विकासको लागि महत्वपूर्ण टेवा पुग्ने आशा ब्यक्त गरे ।
लुम्बिनी जस्तो ठाउँ विश्वमा अन्यत्र कतै नभएको हुँदा त्यसले विश्व भर शान्तिको सन्देश दिने र लुम्बिनीलाई विश्वकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्ने उनले आशा ब्यक्त गरे ।
फागुन २७ गतेदेखि २९ गतेसम्म हुने उक्त शिखर सम्मेलनका लागि तयारी तीब्र रुपमा भइ रहेको उनले बताए ।
शिखर सम्मेलनमा सन २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित जोजे रामोस ओर्टा, अब्देसतार वेन मौसा, विदेद बुसामावुई, लेह्म बोवी, जोडी विलियम्स, टवाको कम्र्यान, रिचार्ड रोबट्र्स र एरी वार्सल सहभागी हुने मुख्यमन्त्री चौधरीले जानकारी दिए ।
रिचार्ड रोबट्र्स चिकित्सा विज्ञान र एरी वार्सल रसायन शास्त्रको क्षेत्रका नोबल पुरस्कार विजेता हुन भने अन्य सातै जना नोबेल शान्ति पुरस्कार विजेता हुन ।
सन १८९५ मा स्वीडेनका वैज्ञानिक अलफ्रेड नोबेलको नाममा स्थापना भएको १२्र लाख अमेरिकी डलर पुरस्कार राशीको नोबेल शान्ति पुरस्कार विश्वको सर्वाधिक ठूलो धन राशी र सम्मानित पुरस्कार मानिन्छ। साहित्य, शान्ति, भौतिक, रसायन, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरूलाई नोबेल पुरस्कार प्रदान गरिदै आइएको छ ।
सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने जानकारी दिइएको छ ।
शिखर सम्मेलनको तयारीका लागि संघमा पराराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा १३ सदस्य उच्चस्तरिय समिति गठन गरिएको छ भने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ।
तीन दिनसम्म चल्ने सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिइएको छ । शिखर सम्मेलनको चर्चा संगै त्यसको प्रतिक्षापनि तीब्र रुपमा भइ रहेको छ ।
