२०७७ कार्तिक ३ गते सोमवार

मनोमानी ढंगले एकसय जति सालका रुखहरु काटेको विरोध

दाङ, वैशाख ३० । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित खानेपानी सामुदायिक वनमा ठूलो मात्रामा सालका रुखहरु काटिएको छ । जन प्रतिनिधि र वनका अध्यक्षको मिलेमतोमा झन्डै एकसयको हाराहारीमा सालका रुखहरु काटेको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका छन् । वडा नं. १९ का वडा अध्यक्ष रामबहादुर योगी,वनकी अध्यक्ष चन्द्रा वलीको मिलेमतोमा सालका रुखहरु काटिएको भन्दै केही उपभोक्ताहरुले त्यसको विरोध गरेका छन् ।

विजौरीदेखि छिल्लिकोट सम्म जोड्ने ३२ किलोमिटर सडक निर्माण गर्ने सवालमा ती रुखहरु प्रकृया नै पुरा नगरी काटिएको थियो । उक्त १० मिटर चौडाईको सडक निर्माण गर्ने सवालमा सडक डिभिजन भने केही बोलेको थिएन । वनको बीचवाट सडक लैजाने कि छेउवाट लैजाने भन्ने वारे सडकले निर्णय नगर्दै रुख काटिएको छ । रुख काट्ने अनुमति भने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले अनुमति दिएका हुन ।

मेयर, वडा अध्यक्ष र वन समुहका अध्यक्षको मिलेमतोमा लाखौं मुल्यका रुखहरु अवैद्य रुपमा काटेर नष्ट गरिएको भन्दै त्यहाँका उपभोक्ताहरुले आक्रोस पोखेका छन् । तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डेले साधारणसभाले निर्णय पारित गर्नु भन्दै वन काट्ने अनुमति दिएका थिए । तर, खानेपानी सामुदायिक वनले भने साधारणसभा नै डाकेन र त्यो निर्णय पनि नगराएर मनोमानी ढंगले रुख काटेको छ । मेयर पाण्डेले रुख काट्न अनुमति दिनुका साथै रुखहरु काट्नको लागि उपमहानगरकै डोजर समेत पठाएर ती रुखहरु काट्न लगाएका थिए । मेयर पाण्डेले सामुदायिक वनको निर्णय अनुसार नै सडक निर्माणको लागि रुखहरु काट्ने अनुमति दिएको प्रतिक्रिया दिए । उनले वनका पदाधिकारीहरुका बीचमा छलफल र सहमति पछि त्यस्तो अनुमति प्रदान गरिएको दाबी गरे । रुख काट्नको लागि उपमहानगरपालिकाले आफ्नो डोजर समेत उपलब्ध गराएको थियो ।

तर उपभोक्ताहरुले भने वनका अध्यक्षले कुनै छलफल नै नगरी सहमति विना नै मनोमानी ढंगले रुख काटेको आरोप लगाए । एकजना वनका पदाधिकारीले पनि प्रकृया नै पुरा नगरी झन्डै एकसयको हाराहारीमा सालका रुखहरु काटेको हुँदा त्यसको अनुसन्धान भइरहेको जानकारी दिए ।

कार्य योजना विना नै हचुवाको भरमा रुखहरु काटेर नष्ट गरेको भन्ने उपभोक्ताको गुनासोका आधारमा उपमहानगरपालिकाको डोजरलाई रुख काट्न नदिएर फिर्ता पठाइ दिएको वनका ती कर्मचारीले बताए । रुखहरु काट्न प्रयोग गरिएको डोजर फिर्ता गरिए पछि स्थानीय जनप्रतिनिधि र वनका केही पदाधिकारीले समेत फोन गरेर तनाव दिने गरेको वनका ती पदाधिकारीले बताए । ‘बहुमतको सरकार छ , के तिम्लाई यहाँ बसेर काम गर्न मन छैन, भन्दै धम्किहरु दिन थालिएको छ,’ वनका एक कर्मचारीले भने ।

 

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *