२०८२ जेष्ठ ३० गते शुक्रवार

सरकार विस्तारको तयारीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

दाङ,मंसिर १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् ।

आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।

लामो समयदेखि लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ हुँदा धेरै आलोचना खेपेका मुख्यमन्त्री चौधरीले पार्टीको प्रदेश सम्मेलन सकिएलगत्तै सरकार विस्तारको तयारी गरेका हुन् ।

दुईतीन दिनभित्रै मन्त्री थपिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले रातोपाटीलाई बताए ।

दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्री पाउने थिए ।

यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर नेपाली कांग्रेसले मन्त्रालय विभाजन गर्दा प्रदेशप्रति नकारात्मक सन्देश जाने भन्दै हाल कायम मन्त्रालय अनुसार नै सरकार विस्तार गर्न सुझाव दिएको छ ।

सोही अनुसार अब कांग्रेसले २ र माओवादीले एक मन्त्रालय थप पाउने छन् ।

कांग्रेसले सम्हाल्ने थप दुई मन्त्रालयमध्ये एउटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैले सम्हाल्ने जनाइएको छ ।

अहिले लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । जसमा मुख्यमन्त्रीले ३ मन्त्रालय सम्हालेका छन् ।

मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् ।

सानादलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले चाँडै प्रदेश सरकारले पूर्णता पाउने बताए ।

गत वैशाखमा कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठन भएको थियो । यद्यपि सरकारले पूर्णता पाउन बाँकी छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *