२०७७ मङ्सिर १७ गते बुधवार

दंगीशरणको समृद्धि र विकासमा रुपान्तरणः सांसद चौधरी


दिप्तीशिखा चौधरी
दंगीशरण, बैशाख २९ ।
प्रदेश सांसद धमकली चौधरीले सामुदायिक समूहहरुको यो जागरण अभियानलाई दंगीशरणको समृद्धि, विकास र रुपान्तरणमा प्रयोग गर्न जोड दिएकी छन् । दंगीशरण गाउँपालिका वडा नं. ३, ४ र ५ मा क्रियाशील रहेका १६ वटा सामुदायिक समूहका सदस्यहरुको शनिबार दंगीशरण गाउँपालिकामा सम्पन्न सिकाइ आदानप्रदान तथा प्रथम सामूहिक भेला कार्यक्रममा बोल्दै सांसद चौधरीले सबै एक भई समूह मार्फत नै हरेक कार्य सफल हुने बताए ।

उनले हरेक काम र कर्तब्यलाई सहिरुपमा बाहिर ल्याउन भेला र छलफलबाट नै निष्कर्षमा आउने बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले मानवीय विकास र भौतिक विकासको सन्तुलनले मात्र समाजमा दीगो र गुणस्तरीय विकास गर्न सकिने बताए । गैरसरकारी तहबाट सहकर्मी समाज सुर्खेतले दंगीशरणका गाउँ बस्तीहरुमा समूह गठन र परिचालन गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै विकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै यस्तैखाले हरेक कार्यबाट समृद्ध दंगीशरण निर्माण हुने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा खड्काले समुदायका मानिसहरुको क्षमता विकास, सुशासन र जीविकोपार्जन सुधारका लागि समूहहरुको अग्रसरता प्रशंसनीय रहेको र समूहको जागरणलाई दीगो बनाउन प्रयास गर्नुपर्ने बताइन् । यसैगरी वडा नम्बर ५ का अध्यक्ष दिपक गौतमले हाम्रो सोच, विचार र व्यवहारमा रुपान्तरण आउनुपर्छ र समाजवादी अभ्यासमा अघि बढ्नुपर्ने कुरालाई जोड दिए ।

सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थी, नेकपाका अध्यक्ष भरत अधिकारी, नेपाली काँग्रेसका सभापति शोभाखर न्यौपाने, गाउँ कार्यपालिका सदस्य हिरा चौधरी, वडा सदस्य दिलकुमारी विक लगायतले मन्तल्य व्यक्त गरेका थिए । उक्त अवसरमा समूहका अगुवाहरुले समूहले गरेका काम, उपलब्धि र सिकाइहरु आदानप्रदान गरेका थिए । सामूहिक भेलामा त्रिवेणी समूहकी ईश्वरी कँडेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थीको अध्यक्षता एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १६ वटा सामुदायिक समूहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्रिवेणी समूह दंगीशरण–३ रावतगाउँको आयोजना तथा सहकर्मी समाज सुर्खेतको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *