२०८२ असार ५ गते शुक्रवार

घोराहीमा साताव्यापी अभिनय प्रशिक्षण सुरु


घोराही,मंसिर १३ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा शैली थिएटरले आयोजना गरेको साताव्यापी अभिनय प्रशिक्षण कार्यक्रम बुधबार घोराही स्थित गोदावरी इङ्लिस मिडियम स्कूलमा सुरू भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सदस्य सचिव प्रगति महराले प्रशिक्षार्थीहरुको सहभागिताले आफू अत्यन्त उत्साहित बनाएको बताए । उनले यस्तो महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाएकोमा आयोजक शैली थिएटरलाई धन्यवाद दिए ।

उनले भने, ‘सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अब जनस्तर सम्म पुग्न चाहन्छ र यो कार्यक्रमले हाम्रो त्यही उदेश्य पूरा गर्ने प्रतिष्ठानको अपेक्षा छ ।’

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख विनोद गौतमले नाट्य कला सिकाउने यो अभ्यासले आफू उत्साहित भएको बताउनु हुँदै यो तालिमले दाङमा एउटा सशक्त नाट्य समूह तयार हुने विश्वास व्यक्त गरे

गोदावरी इङ्लिस मिडियम स्कूलका प्रबन्ध निर्देशक विष्णु प्रसाद दाहालले विरलै हुने यस्तो प्रशिक्षण कार्यक्रमको अंग बन्न पाएकोमा गर्व अनुभूति भएको बताउदै तालिमको पूर्ण सफलताको कामना गरे ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रशिक्षक सविन न्यौपानेले एकहप्ताको अवधि छोटो भएपनि अभिनय कलाको आधार स्तम्भ तयार पार्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कवि प्रमोद धितालले नाटक विचार प्रस्तुत गर्ने सशक्त माध्यम भएकोले हरेक विषयलाई जनस्तरमा पुर्याउन अभिनयले प्रभावकारी भूमिका खेल्ने बताए ।

आधा दर्जन विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवम् शैली थिएटरका अध्यक्ष नवराज वुढाथोकीले दाङको नाटक क्षेत्रको विकासमा योगदान पुर्याउन सक्ने जनशक्ति तयार गर्ने उद्देश्य तालिमले राखेको बताए।

तालिममा विभिन्न उमेरसमूहका २७ जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रमका संयोजक हरिप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *