रुकुम ,कात्तिक ९ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले सरकार ढाल्न र गठबन्धन फुटाउन केही दल लागिपरेको भन्दै त्यो सफल नहुने बताए।
उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौँ। यो सरकार पाँच वर्ष नै रहन्छ। कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनका विरुद्ध लागेको पनि देखियो। अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ।’ सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए।
सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो। प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताए।
‘हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ। अझै पनि बलियो हुने छ। मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्’ प्रधानमन्त्री दाहालले भने।’ वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका उनले दाबी गरे।
प्रधानमन्त्री दाहालले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताए।
उनले अब माओवादीबाट फुटेर गएका दलहरुबीच एकता आवश्यक रहेको बताए । केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो।