काठमाडौं,भदौ ७ । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन भाद्र ११ गते हुने भएको छ
बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।
यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले यसको निम्ति आजै सूचना प्रकाशित हुने बताए।
बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो।
बुधबारमात्रै ११ जना सांसदको विषयगत समितिको आबद्धता हेरफेर भएको छ।
साउन १० गतेदेखि एमालेले संसद अवरोध गर्दा कार्यसूचीमा परे पनि समिति हेरफेर संसदमा प्रस्तुत हुन सकेको थिएन। सांसदहरूको हेरफेर भएसँगै प्रतिनिधिसभाका विषयगत समितिमा सभापति चयनका लागि बाटो खुलेको हो।