२०८२ माघ २ गते शुक्रवार

‘बालकृष्ण खाँणलाई अन्याय भए कांग्रेसले सरकार छाडोस्, नभए निलम्बन गरियोस्’ ः अजयबाबु शिवाकोटी

काठमाडौं ,साउन ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी विभिन्न चुनावमा उम्मेदवार बनाउँदा पार्टीले पारदर्शी विधि अपनाउनुपर्ने बताएका छन्।

मंगलबारदेखि सानेपामा बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘पार्टीले कुनै पनि निर्वाचनमा उम्मेदवार बनाउँदा पनि पारदर्शी हुनुपर्छ। पैसाको बलमा टिकट दिने आरोप अब बन्द हुनुपर्छ’, उनले भने, ‘उम्मेदवार चयनमा तलसम्मका कार्यकर्ताहरुको पनि संलग्नता हुनुपर्छ। उम्मेदवार चयनमा अंकभार तोकिनुपर्छ।’

यति हुन सकेमा मात्रै सुशासनलाई बल पुग्ने उनले बताए। ‘यसले सुशासनलाई पनि बल दिन्छ। कति रकम दिएर टिकट लिएको भनेर भाइरल हुने क्रम रोकिन्छ’, उनले भने, ‘कुनै पनि भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्नु हुँदैन।’

उनले अहिले कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको हिस्सेदार रहेको स्मरण गराउँदै नक्कली शरणार्थी प्रकरणमा तानिएका नेता बालकृष्ण खाँणको प्रसंग पनि झिके।

‘कांग्रेस अहिले प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा एकजना वरिष्ठ नेता बालकृष्ण खाँणलाई थुनामा पठाएको छ’, उनले भने, ‘यदि नक्कली शरणार्थी प्रकरणमा बालकृष्णलाई अन्याय भएको हो भने कांग्रेस तत्काल सरकारबाट हट्नुपर्छ, होइन भने बालकृष्णलाई निलम्बन गरियोस्।’

उनले बालकृष्ण प्रकरणमा पार्टी नेतृत्वलले आफ्नो प्रष्ट धारणा ल्याउनुपर्ने बताए। ‘यसबारेमा पार्टीले प्रष्ट भन्नु पर्यो। जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस्’, उनले भने, ‘कांग्रेसले हिजो माओवादीसँग तालमेल गरेर चुनावमा गयो। तर चुनावपछि मा‌ओवादीले एमालेसँग मिल्यो। सत्ताको यो खेलमा एमालेलाई छिर्न नदिएको भए के हुन्थ्योरु सभामुख हाम्रै हुन्थ्यो।’

उनले अहिलेका मन्त्रीहरुबारेमा जनता र कार्यकर्तामा धेरै गुनासो रहेको पनि गुनासो गरेका छन्।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *