तुलसीपुर,असार ३१ । लुम्बिनी प्रदेशसभाको बसेको बैठकले बिभिन्न ६ वटा विषयगत समिति गठन गरेको छ ।
लामो समयदेखि विषयगत समितिहरु गठन हुन सकेको थिएन । दोस्रो अधिवेशनको १९ औं बैठकमा सभामुख तुलाराम घर्तीले समितिका सदस्य मनोनयन गरेपछि पारीत पनि भएको थियो ।
प्रदेशसभाको सार्वजनिक लेखा समितिमा १२ जना, अर्थ उद्योग तथा पर्यटन समितिमा १२ जना, भौतिक पूर्वाधार विकास समितिमा १४ जना, प्रदेश मामिला तथा कानुन समितिमा १२ जना, सामाजिक विकास समितिमा १२ जना र कृषि वन तथा वातावरण समितिमा १५ जना सदस्य रहनेछन् । ति सदस्यहरुले नै समितिको नेतृत्व चयन गर्नेछन् ।
साथै बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री सन्तोष पाण्डेयले प्रदेशसभामा पेस गर्नुभएको थियो । त्यस्तै स्वास्थ्यमन्त्री राजु खनाललले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधवन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका लागि पेस गरेका थिए ।
संशोधन विधेयकमाथि शनिबारकै बैठकमा सैद्धान्तिक छलफल सकिएको छ ।
संशोधन विधेयकमाथि प्रदेशसभा सदस्यहरु लोकीकुमारी विक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले सुझाब राखेका थिए ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेशसभामा पेस गरेको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता भएको छ ।
प्रदेशसभामा छलफलमै प्रवेश नगरी रोकिएको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट सरकारका प्रवक्ता सन्तोष पाण्डेयले फिर्ता लिएका हुन । यसमा गहन अध्ययन पछि मात्रै पुनः पेश गर्ने उनले बताए ।
प्रदेशसभा अर्को बैठक साउन ८ गते बस्नेछ ।