२०८२ माघ ३ गते शनिवार

एमालेको अवरोधले राष्ट्रियसभाको बैठक आज पनि स्थगन

काठमाडौं, असार २४ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । बैठक प्रारम्भ हुने बित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध कायमै रहने बताइन् । एमालेले सोही विषयलाई लिएर चार दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै उनले आफ्नो विचार राखेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।

संसद अवरोध भएका सम्बन्धमा शीर्ष नेताहरु छलफल र संवादमा लाग्नु हुने विश्वास व्यक्त गर्दै उनले सदनलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरे ।

राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

साथै राष्ट्रियसभाको अर्को बैठक यही असार २५ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *