तुलसीपुर,असार २० । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ।
मंगलबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर आजदेखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए।
एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमती गरेका हुन्।
वार्तामा विपक्षी दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी बसेका थिए।
सभामुख तुलाराम घर्तीले विपक्षी दलसँग सहमति भएको बताए। असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको छ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा आज बुधबारका लागि बोलाइएको छ।
प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले अनिश्चितकालका लागि मंगलबार स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७ औँ बैठक आज दिउसो १ बजेका लागि बोलाइएको जानकारी दिए।
मंगलबार बसेको १६ औँ बैठकमा बजेट किताब च्यातेर एमालेले सदन बहिस्कार गरेको थियो।