तुलसीपुर,असार १८ । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।
दोस्रो अधिवेशनको १४औँ बैठकमा बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल भएको थियो । उक्त छलफलमा सत्तारुढ दलका सांसदहरूले मात्रै भाग लिएका थिए ।
छलफलमा प्रमुख प्रतिपक्षी दल भएर पनि आफूहरूलाई बोल्न नदिइएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । पार्टीको तर्फबाट भोजप्रसाद श्रेष्ठलाई बोल्नका लागि समय माग गरेको भए पनि सभामुखले बोल्न नदिएको चौधरीको भनाइ छ ।
बैठकमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिँदै सरकारले ल्याएको बजेट राम्रो आएको भन्दै सरकारको बचाउ गरे । असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो ।
बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक तीनपटकसम्म स्थगित गरिएको थियो । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयका बारेमा अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए ।
यस्तै, मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गरे ।
दोस्रो अधिवेशनको १५औँ बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । अब बस्ने बैठकमा विनियोजन विधेकमाथिको सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।