तुलसीपुर,असार ११ । सांसद दीपक गिरीले चट्यांगबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ दिन माग गरेका छन् ।
सोमवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले हाल मृतकका परिवारलाई २ लाख दिने गरिएको बताउँदै उक्त रकम नाम मात्रको भएकाले १० लाख दिन माग गरेका हुन ।
चट्यांगले बर्षेनी कैयौंको ज्यान लिइरहेको स्मरण गराउँदै उनले खेतबारीमा काम गरिरहेका किसानहरुले अनाहकमा ज्यान गुमारहँदा सरकार संवेदनशील र गम्भीर बन्नुपर्ने बताए ।
गत बर्ष ५५ जनाले चट्यांगबाट ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका सांसद गिरीले चट्यांग लगायत विभिन्न विपत र दुर्घटनाका कारण नागरिकले ज्यान गुमाइरहेको अवस्थालाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराए ।
आफ्नो गृह जिल्ला दाङमा केही दिन अघि मात्र दुई जना किसानले चट्यांगका कारण मृत्युबरण गर्नुपरेको दुःखद प्रसंग उठाउँदै गिरीले विदेश नगई स्वदेशमै केही गर्नुपर्दछ भन्ने मान्यताका साथ आफ्नै खेतबारीमा कृषि कर्म गरिरहेको दुई युवा किसानले ज्यान गुमाउँदा आफू मर्माहत भएको बताए ।
उनी निर्वाचित प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पर्ने दंगीशरण गाउँपालिका बागरका २६ बर्षीय समिर केसी र चखौराका ३६ बर्षीय रामनारायण चौधरीको चट्यांग लागेर ज्यान गएको थियो । उनले पछिल्लोपटक दाङ लगायत बागलुङमा पनि दुई जना नाबालकले चट्यांगका कारण ज्यान गुमाएको दुःखद घटना उल्लेख गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरे ।
उनले परिवारजनमा समवेदना प्रकट गर्दै दाङ घटनामा घाइते भएकी रुपा राना वलीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।
पछिल्लो समय विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाको अवस्था पनि कहालीलाग्दो रहेको बताउँदै उनले स्ट्याण्डर्ड बाटो बनाउन र नियमहरु कडाईका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।