तुलसीपुर,जेठ २१ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले थरुहट प्रदेश कायम गर्ने आवाज फेरि बुलन्द पारिने संकेत गरेका छन्।
आइतवार दाङको लमहीमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पहिचानको आन्दोलन अझै नसकिएको भन्दै देशमा रहेका प्रदेशहरूको नाम पहिचानको नामबाट कायम गरिनुपर्ने आवाज उठाएका छन्।
‘अहिले पनि लाग्छ, तराईका थारुहरूको नाममा थरुहट प्रदेश मात्रै लेखिदिनूस, त्यो थरुहट प्रदेश लेखिएको संविधानभित्र धारा, उपधाराभित्र कतै थारुको अधिकार नलेखिदिनूस, मात्रै थरुहट प्रदेश लेखेको नाममा यहाँका थारुहरूले हजारौँ, लाखौँ सुंगुरको बलि एकैदिनमा दिन्छन् र खुसीयाली साट्छन्’, नेता रेशमले भने, ‘आफ्नो जनता खुसी भएको देख्न नसक्ने कुनै राज्य व्यवस्था हुन्छरु आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कुनै राज्य व्यवस्था हुन्छरु कृपया यस्तो नहोस्।’
उनले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न नहुने तर्क पनि गरे । टीकापुर घटना घटाउने असली ‘हत्याराहरू’को खोजीनिती गर्न नेता चौधरीले माग समेत राखे।
‘असली हत्याराहरूको खोजीनिती गरौँ न। खोजीनिती गर्न सघाउनको लागि रेशम चौधरी तयार छ’, उनले भने, ‘टीकापुर घटनाको बारेमा अतिरञ्जित कुरा नगर्नूहोस्, टीकापुर घटनामा सबैभन्दा पहिला रामविहारी थारु सहिद भएका थिए। एउटा थरुहट आन्दोलनमा एउटा थारु सिपाइ मारिन्छ, यो सम्भव कुरा हो, अहँ होइन। यो केलाइनुपर्छ। गलत कुराको अन्त्य गरिनुपर्छ, पीडितले न्याय पाउनुपर्छ।’
जेलबाट छुटेपछि पहिलोपल्ट दाङ आएका रेशम चौधरीलाई नागरिक अभिनन्दन गरिएको छ। चौधरी थारु बाहुल्य जिल्लाहरूमा पुग्न थालेका छन्। आइतबार दाङको लमही आइपुगेका उनलाई स्वागत तथा अभिनन्दन गरियो।
नागरिक उन्मुक्ति पार्टी दाङ क्षेत्र नं। १ ले लमही बजारको चौराहमा अभिनन्दन कार्यक्रम राखेको थियो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट दुईवटा प्रदेशसभा र एक वटा प्रतिनिधिसभामा उम्मेदवारसमेत खडा गरेको थियो।