काठमाण्डौ,जेठ १३ । अवरुद्ध संसद सुचारु गराउन सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ।
छलफल शनिबार बिहान केहीबेर अगाडिबाट सिंहदरबारमा सुरु भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल जारी नै छ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी छन्।
पशुपतिको जलहरी काण्डमा आफ्ना नेतालाई मुछेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार दिउँसो बैठक अवरोध गरेको थियो।
एमालेले आफ्नो संसदीय दलका नेतालाई जोडेर माओवादी सांसद राजन दाहालले गरेको टिप्पणी नहटाउनुपर्ने र माफी माग्नुपर्ने अडान राखेको छ। आफ्नो माग पूरा नगरेसम्म संसद चल्न नदिने एमालेको अडान छ।
हिजो संसद खुलाउन दलहरू सात घण्टादेखि छलफल गरे पनि कुनै निचोड ननिस्किएपछि आजका लागि बैठक बोलाइएको छ। बैठक अपरान्ह ४ बजे बस्दैछ।