दाङ, बैशाख २७ । भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमोलेका सचिव टोपबहादुर रायमाझीलाई एमालेले पदबाट निलम्बित गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति प्रकासित गरि रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको बताएका छन् । अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए ।
महासचिव पोखरेलले विज्ञप्तिमा बिधिको शासनको अनुयायी भएका कारण रायमाझीले राज्यको अनुसन्धान निकायमा उपस्थित भएर विधिवत रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएपनि भागेको हुँदा निलम्बित गर्नु परेको स्पष्ट पारेका छन् ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै रायमाझीलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस भनेर रायमाझीलाई अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।