काठमाण्डौ,बैशाख २१ । नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका थिए ।
नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त भएका हुन । उनीहरुलाई राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शीतलनिवासमा शपथ ग्रहण गराउने तयारी छ ।
नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन ।
प्रधानमन्त्री प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता पाएको छैन ।
गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चैत १७ मा सातौँ पटक र वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँग अझै दुई वटा मन्त्रालयको जिम्मेवारी छ । खानेपानी र वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।