काठमाडौँ,चैत ३० । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसहित कानून व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएका छन्।
बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन्।
प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस आफूहरूले गरेको बताए।
उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्दा कताकता न्यायपालिकाको साख गिरेको हो कि भन्ने करा राख्यौँ। करिव १४ महिनायता प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्नुले न्याय सम्पादनमा कठिनाइ भइरहेको कुरा राख्यौँ। संवैधानिक परिषद्को अध्यक्ष भनेकै प्रधानमन्त्री हो, त्यसको नाताले पनि जे प्रयास गर्नुपर्छ, त्यसमा प्रयास गरिरहेको छु भन्नुभएको छ। ठोस निस्कर्षम पुग्नेगरी पहल गरिरहेको भन्नुभएको छ। १० दिनभित्र यो प्रक्रिया शुरु नभए बाध्य भएर आन्दोलनमा जान्छौँ भनेका छौँ। अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने, अटोमेटिक मिसिन सिस्टमबाट हुनुपर्ने भन्ने थियो। त्यो हुन नसकेको कारणले हामीले त्यसको बजेट व्यवस्थापन गर्न पनि आग्रह गरेका छौँ। त्यसमा उहाँ पोजेटिभ हुनुहुन्छ। यो हाम्रो दबाब नै हो, दबाबमुलक भेटघाट हो।’
अध्यक्ष घिमिरेले न्यायपालिकामाथि आक्रमण भइरहेको भन्दै त्यसलाई कम गर्न कार्यपालिका र व्यवस्थापिकाले ध्यान दिनुपर्ने कुरा प्रधानमन्त्रीसँग राखेको पनि बताए।