तुलसीपुर,चैत २० । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठक सोमबार बस्दै छ।
आज दिउँसो एक बजे बस्ने बैठकका दुई वटा मात्रै सम्भावित कार्यसूची सार्वजनिक भएको छ। यद्यपि, प्रदेशसभाले ‘विजनेश’ नपाउँदा अहिलेसम्म बैठक बस्न सकेको थिएन।
सभामुख तुलाराम घर्तीको निर्देशनमा आजको बैठक आह्वान गरिएको हो। गत फागुन १७ मा छैठौँ बैठक बसेको थियो।
त्यसपछि चैत ७ गते बैठक बस्नेगरी सूचना जारी गरिएपनि अन्तिममा आएर बैठक स्थगित गरिएको थियो।
आज बस्ने बैठकमा प्रदेश सभासदस्यहरूले वशेष समयमा बोल्ने र मुख्यमन्त्री लीला गिरीले,’लुम्बिनी प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ सभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
सरकार बनाउने र गिराउने खेलमा दलहरू सक्रीय बनेपछि प्रदेशसभा कामविहीन बन्न पुगेको हो। अहिले लुम्बिनी प्रदेशमा एमाले र राप्रपाको सरकार छ।
तर, सरकारमा बसेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टी बाहिरिएपछी सरकार अल्पमतमा छ।
केन्द्रमा फेरिएको राजनीतिक समीकरणको आधारमा ८ राजनीतिक दलका ५४ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तीको माग गर्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरिएको छ।
मुख्यमन्त्री गिरीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ। चैत १२ गते उनीहरूले दावी पेश गरेका हुन्।
वैशाख १२ भित्र मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुपर्ने छ।