काठमाडौँ ,चैत १९ । नेपाली कांग्रेसका पुराना नेता रामचन्द्र पौडेल राष्ट्रपतिको कुर्सीमा आसिन भएर सक्रिय राजनीतिबाट बाहिरिएसँगै तनहुँमा उनका सधैँका ‘प्रतिपक्षी’ गोविन्दराज जोशीविरुद्धको कारबाही पार्टीले फिर्ता लिएको छ।
यद्यपि, नेता जोशीले भने पार्टीले एकल रुपमा गरेको कारबाही फिर्ताप्रति आपत्ति जनाउँदै उक्त निर्णय आफूलाई मान्य नभएको बताएका छन्।
वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनको मनोनयनको अघिल्लो दिन नेपाली कांग्रेसले प्रभावशाली नेता जोशीसँगै चितवनका अर्का ‘बागी’ विकास कोइरालाको कारबाही पनि फिर्ता गरेको हो।
लामो समयदेखि कांग्रेसभित्र किनारामा राखिएका नेता जोशी कांग्रेसका तत्कालीन वरिष्ठ नेता पौडैलको असहिष्णुताका कारण ६ वर्षअघि पार्टीबाट निष्कासित गरिएका थिए। गत आमनिर्वाचनमा पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीले ६ हजारभन्दा बढी मत ल्याएका थिए।
जोशी र कोइरालाको कारबाही फुकुवा गर्ने निर्णय कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको सिफारिसमा गरिएको हो।
कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनाव लड्न तनहुँ १ पुगेका अर्थशास्त्री डा। स्वर्णिम वाग्लेले जोशीको समर्थन माग्ने तयारी गरिरहेका बेला कांग्रेसले उनको कारबाही फुकुवा गरेको हो।
स्थानीय कार्यकर्ताले जोशीलाई कांग्रेसको सक्रिय राजनीतिमा चाहे पनि पौडेलकै कारण उनको कारबाही निरन्तर रहेको पार्टी स्रोतले जानकारी दिएको छ।
नेता जोशी भन्छन्, ‘पार्टीको साधारण कार्यकर्तासमेत नरहेको अवस्थामा गरिएको कारबाही फिर्ता गर्ने निर्णय आपत्तिजनक छ। हामीसँग कुनै सम्पर्क नगरी कारबाही फिर्ता गर्नुको औचित्य छैन।’
उनले यो आफ्नोमात्र विषय नभएर आफूजस्ता कयौँ कार्यकर्ता पार्टीको अपमानको सिकार भएको पनि बताए। उनले थपे, ‘पार्टीको साधारण कार्यकर्ता पनि नरहेको मेरो लागि कांग्रेसले एकल रुपमा गरेको निर्णय मान्य हुँदैन।’
उनी नेतृत्वको भेलाले तनहुँ १ मा हुने आगामी उपनिर्वाचनमा कुनै दललाई पनि समथर्न नगर्ने निर्णय गरेको छ।
उता गत आमनिर्वाचनमा चितवन–३ बाट कांग्रेसका बागी उम्मेदवार विकास कोइरालाको कारबाही पनि पार्टीले उपनिर्वाचनको मुखमा फिर्ता लिएको हो।
कांग्रेसले आफ्नो प्रतिष्ठाको विषय बनाएको तनहुँ १ मा महामन्त्री गगन थापालाई आफ्ना उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन पठाउने भएको छ भने चितवन–२ मा आफ्ना उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन अर्का कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा जाने भएका छन्।