तुलसीपुर, १६ चैत ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सचिव सुदिप श्रेष्ठले व्यवसायीहरुले पर्याप्त मात्रामा सुन पाउन नसकेको बताएका छन् । सुनचाँदी व्यवसायीहरुलाई आवश्यक पर्ने कच्चापदार्थ भनेकै सुन भएकाले त्यो पर्याप्त नभएको उनले बताएका हुन् । दाङ तुलसीपुर सुनचाँदी व्यवसायी समितिको शनिबार तुलसीपुरमा सम्पन्न भएको १२औँ बार्षिक साधारणसभालाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् ।
व्यवसायीहरुले चाहेको समयमा र आवश्यकता अनुसार सुन नपाउँदा दुःखी भएको बताउँदै उनले नेपालमा राष्ट्र बैंकमार्फत दैनिक २० केजी सुन आयात हुने र दाङमा मासिक दुई केजी सुन खपत हुने गरेको उनको भनाइ छ । नेपाल समितिका अध्यक्ष मदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले प्रतिशतको आधारमा भन्दा पनि व्यवसायीहरुको प्यान नम्बरको आधारमा सबैलाई बराबर सुन वितरण गर्नुपर्ने नीति आफूहरुले अघि सारेको बताएका छन् ।
साथै उनले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि सुनचाँदी व्यवसायीहरुको पनि महङ्खवपूर्ण भूमिका रहेकाले राज्यले आफूहरुको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने बताए ।
उक्त अवसरमा सुनचाँदी व्यवसायी संघ प्रदेश नम्बर ५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकार, विश्वकर्मा समाज प्रदेश नम्बर ५ का सचिव खेमराज विश्वकर्मा, मानवअधिकार तथा शान्ति समाज दाङका उपसभापति तुलसीराम सुनार, सुनचाँदी व्यवसायी समिति तुलसीपुरका संस्थापक ईश्वरी सुनार र समितिका उपाध्यक्ष पंकज शाह लगायतले व्यवसायीहरुको हकहित र अधिकार प्राप्तीका लागि सम्पूर्ण व्यवसायी एकजुट हुनुपर्ने बताएका थिए ।
सभामा समितिका महासचिव हरिकृष्ण विकले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुनिल सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य मोहन सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव लोकबहादुर विश्वकर्माले गरेका थिए ।