२०८२ असार ७ गते आइतवार

प्रधानमन्त्री प्रचण्डविरुद्ध दर्ता भएको रिट कानुनी प्रक्रियाअनुसार अघि बढ्छ ः माओवादी

काठमाण्डौं,फागुन २६ । माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लङ्घन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले बताए ।

उनले पछिल्लो शान्ति प्रक्रियाको उल्लङ्घन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘बैठममा शान्ति प्रक्रियाको उल्लङ्घन गर्ने खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउने, शान्ति प्रक्रियाका कामहरु छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरु मिलेर भन्नेकुरा भएको छ । ३० गते नागरिक समाज, बुद्धिजीवीसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दर्ता भएको रिट अदालतको कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताए । उनले शान्ति प्रक्रिया उल्लङ्घन गर्ने, उल्ट्याउने खालका प्रवृत्तिहरु देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको बताए ।

उनले भने, ‘आदालतको कुरा कानुनी प्रक्रियाअनुसार नै अघि जान्छ । शान्ति प्रक्रिया उल्लङ्घन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो प्रवृत्तिका बारेमा सजग र सतर्क सबै भएका छन् । शान्ति प्रक्रियालाई उल्ट्याउन खोजेको नै हो भने शान्ति प्रक्रिया समाप्त भयो भन्न खोजेको हो भने अर्कै कुरा हुन्छ । शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्नुपर्छ भन्नेकुरा भएको छ ।’

महासचिव गुरुङले उपराष्ट्रपतिमा लैङ्गिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । उनले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए ।

उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताए । महासचिव गुरुङले उपराष्ट्रपतिको चुनाव सकिएसँगै निर्वाचन आचारसंहीता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने बताए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *