२०८२ चैत्र ३० गते सोमवार

सत्ता समीकरण फेरिँदा कर्णालीमा एमाले अलमलमै

सुर्खेत,फागुन २२ । केन्द्रमा नयाँ समीकरण बनेसँगै कर्णाली प्रदेशमा पनि सत्ता समीकरण फेरिने चर्चा छ । सरकार परिवर्तन भएमा पुनः कर्णालीमा नेकपा ९माओवादी केन्द्र० र नेपाली कांग्रेस मिलेर सरकार चलाउँनेछन् ।

अघिल्लो कार्यकालमा पनि माओवादी र एमालेको गठबन्धन भत्किएपछि कांग्रेस–माओवादी मिलेर आलोपालो सरकार चलाएका थिए । राप्रपा सांसद सन्तोषी शाहीले बिहीबार प्रदेशप्रमुख तिलक परियारलाई सरकारप्रतिको समर्थन फिर्ता लिएको पत्र बुझाएकी छन् ।

शाही प्रदेशसभामा राप्रपाको एकमात्र सांसद हुन् । सरकारलाई समर्थन दिए पनि राप्रपा सरकारमा सहभागी भएको थिएन ।

अहिले एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार चलिरहेको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् ।

माओवादी र एमालेबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । पहिलो आधा कार्यकाल माओवादी र दोस्रो आधा कार्यकाल एमालेले सरकार चलाउने सहमति थियो ।

नयाँ समीकरण बनेमा उक्त सहमति कार्यान्वयन नहुने देखिन्छ । सत्ता समीकरण बदलिएपनि मुख्यमन्त्री शर्मा भने ढुक्क छन् । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि २१ सीट आवश्यक पर्छ ।

माओवादी एक्लैसँग १३ सीट ,नेपाली कांग्रेससँग १४ सीट छ भने नेकपा एकीकृत समाजवादीको एक, राप्रपाको एक र एक जना स्वतन्त्र सांसद रहेका छन् । सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सीट पर्याप्त छ ।

कर्णालीमा एमालेले तीन वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । एमालेका विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय, टेकराज पछाईले सामाजिक विकास मन्त्रालय, र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

एमालेका सांसदहरु भने केन्द्रको सर्कुलर अनुसार नै अघि बढ्ने बताएका छन् । यस विषयमा निर्णय भइनसकेको उनीहरुको भनाई छ ।

नयाँ समीकरणमा रहेका दलहरुबीच कर्णालीमा बैठक बसेको छ । गएको शुक्रबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी उपमहासचिव शक्ति बस्नेतको सहभागितामा वीरेन्द्रनगरमा अभिमुखीकरण कार्यक्रम राखिएको थियो ।

राष्ट्रपतिका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई मत दिने उद्देश्यसहित आयोजित बैठकमा कांग्रेस–माओवादीका सबै सांसद सहभागी थिए ।

यता नेपाली काँग्रेसका उपसभापति पूर्णबहाुर खड्काले राष्ट्रपतिको निर्वाचनपछि मात्र नयाँ सरकार गठनको काम अघि बढ्ने बताए ।

सुर्खेतमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी खड्काले राष्ट्रपतिको निर्वाचन पछि मात्र सरकार गठनको कामहरु अघि बढ्ने प्रतिक्रिया दिएका हुन् ।

यता माओवादीका प्रदेश अध्यक्ष विमला केसीले केन्द्रमा नयाँ समीकरण बनेसँगै केन्द्रको सर्कुलर अनुसार अघि बढ्ने बताइन् ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *