२०८२ असार ६ गते शनिवार

आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदको भेला गर्ने

काठमाडौँ ,फागुन १५ । कांग्रेस–माओवादी नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने निर्णय गरेको छ।

आठ दलीय गठबन्धनको कार्यदलको सोमबार बसेको बैठकले सातै प्रदेशका राजधानीमा आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय गरेको हो।

भेलामा आठ दलीय गठबन्धन बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गर्न खोजिएको छ। फागुन २५ गते राष्ट्रपतिको निर्वाचनभन्दा अघिल्लो दिन संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय कार्यदलको पहिलो बैठक आज बसेको थियो। राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन आठ दलका नेता सम्मिलित कार्यदल आइतबार बनेको थियो।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन्।

त्यस्तै, जनमत पार्टीबाट अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन्।

राष्ट्रपति निर्वाचनमा ८ दलको साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल रहेका छन् भने एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई उठाएको छ।

संघीय संसद्अन्तर्गत दुवै सदनका सदस्य र प्रदेशसभा सदस्य राष्ट्रपति निर्वाचनको मतदाता हुने भएकाले आठ दलले भेलाको तयारी गरेको हो।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *