सुर्खेत ,फागुन ७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन्। आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै शर्मा यस्तो बताएका हुन्।
राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा महामन्त्री शर्माले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर पुगे पनि राष्ट्रपति भने आफ्नै पार्टीको उम्मेदवार हुने ठोकुवा गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमार्फत मुलुकको पहिलो राजनीतिक दल बनेको नेपाली कांग्रेस सरकार बाहिर भए पनि राष्ट्रपतिमा भने आफ्नो आफ्नो उम्मेदवारले जित्ने दावी गरिरहेको छ।
यता, सरकारमा सहभागी दल नेकपा एमालेले भने राष्ट्रपतिमा आफ्नो अडान कायमै राखेको छ। यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने एमालेलाई राष्ट्रपति दिने विषयमा सकारात्मक छैनन्। उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आलटाल गरिरहेका छन्।
एमालेले राष्ट्रपति नपाउनु र कांग्रेसले राष्ट्रपतिमा खुलेर दाबी गर्ने विषयले सत्ता गठबन्धनमा खटपट हुने आंकलन समेत गरिएको छ।