दाङ, माघ २५ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।
बुधबार भएको उपनिर्वाचनबाट सत्ता गठबन्धनका उम्मेदवार दसौदीले ४०२६ मतभार मतभार प्राप्त गरे ।
उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरि कुल ४ हजार २६ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
उनका निकटतम प्रतिष्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए । आचार्य ३२६ मतान्तरले पराजित भएका हुन ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेद वार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशमा कुल मतभार ७००९ रहेको थियो ।
निर्वाचन अधिकृत कार्कीका अनुसार प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो ।
लुम्विनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए ।
प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने गर्छ ।
प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरि ३०५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भइनन् ।
उनी बिरामी भएका कारण छिमेकी देश भारतमा उपचारको लागि गएको स्रोतले बताएको छ । सिंह नेपाली प्रगतिशील पार्टीबाट निर्वाचित भएकी थिइन ।
लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । ती मध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २ ÷ २ तथा राप्रपा र जनता प्रगतिशीलले १ ÷ १ स्थानमा जितेका छन ।
८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४ ÷ ४, जसपा, लोसपा र जनमतले ३ ÷ ३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १ ÷ १ सिट जितेका छन् ।
यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन । तीन जनाले जितेपनि फेरि एक जना माओबादी केन्द्रमै फर्किएका छन् ।