तुलसीपुर,पुस २९ । दाङको तुलसीपुरमा दोश्रो हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७९ हुने भएको छ ।
हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालन हुने प्रतियोगिता आउँदो फागुन २ गतेदेखि ८ गतेसम्म अरनिको खेल मैदानमा हुने भएको हो ।
स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र व्यवसायीक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डाँगी फाउण्डेसनका सचिव केशव चौधरी (मिग्मा)ले जानकारी दिए ।
फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर सर्वेउत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीले ३ हजार र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले ३ हजार र प्रमाणपत्र,सर्वाधिक गोलकर्ताले ३ हजार र प्रमाणपत्र हात पार्नेछन ।
त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको फाउन्डेशनका सल्लाहाकार लक्ष्मण बस्नेतले बताए ।
फाउन्डेशनले स्थापनाकाल देखि नै दाङ जिल्लाको शिक्षा,स्वास्थ्य र खेलकुदको क्षेत्रमा विभिन्न गतिविधिहरु गर्दै आएको छ ।