२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुरमा मानव अधिकार दिबस मनाइयो

"कानुन कार्यान्वयनमा समस्या"

 तुलसीपुर,मंसिर २४ । ‘महिला अधिकार ः मानव अधिकार’ भन्ने मुल नारा साथ ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिबस तुलसीपुरमा पनि मनाइएको छ ।

मानव अधिकार तथा शान्ति समाज दाङको आयोजनामा शनिवार महिला माथीको हिंसा र भेदभाव अन्त्य,पीडितलाई न्याय र पीडकलाई सजाय विषयक अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाइएको हो ।

त्यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका रजिष्टार माधब अधिकारीले संबिधानमा ऐन,कानुनका कुराहरु धेरै लेखिएपनि कार्यान्वयन र कर्तव्यको सवालमा सफल हुन नसकेको बताए ।

उनले आफ्ना अधिकार र कर्तव्य खोज्दै गर्दा अर्काको अधिकार र कर्तव्यलाई उत्तीकै बुझ्न सकेमा मात्र शान्ति प्राप्तीमा मद्धत पुग्ने तर्क गरे ।

सबै जातजाति,वर्ग र वर्णबीच सहभाव तथा समानता हुने खालको संबिधान देशलाई आवश्यक रहेको बताउँदै उनले मानवअधिकार र शान्तिको सवालमा सबै सरोकारवालाहरु सचेत हुन जरुरी रहेको बताए ।

मानव अधिकार तथा शान्ति समाज दाङका सभापति नवीन कुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले निति बनाउने,कार्यान्वयन गर्ने र कर्तव्यको पालना गर्ने पक्ष र बेथिती गर्नेहरुका लागि कडा कानुनको आवश्यकता रहेको तर्क गरे ।

शान्ति समाजले राज्यलाई मुल प्रवाहीकरणमा नितिगत रुपमा लैजानका लागि सरकारको नेतृव्वदायी भुमिकामा रहेर प्रतिगमन बिरुद्धमा लागेकाहरुलाई पनि खबरदारी गर्ने काम गरिरहेको बताए ।

निति निमार्ण तहमा महिलाको प्रतिनिधित्व अझै पनि हुन सकिरहेको छैन,उनले भने,‘निर्वाचनमा प्रमुख दलहरुले प्रत्यक्ष तर्फको जुन प्रतिशत देखाएका छन त्यो लाजमर्दो छ,त्यो गलत छ भन्ने पक्षमा हामी छौं,र मन्त्री मण्डलमा महिला किन नराख्ने ? भन्ने पनि हाम्रो प्रश्न छ,प्रतिशतका हिसावले महिलाको सहभागिता हुनुपर्छ भनेर त्यसलाई पनि अभियान रुपमा उठाइरहेका छौँ ।’

उनले कुटनितिक नियुक्तीका विषयमा पनि महिलाको सहभागिताको सवालमा पैरवी गरिरहेको बताए । महिलालाई घोच्याउने,अपमान गर्ने सामाजिक न्यायको लागि त्यो दण्डनीय कार्य रहेको हुदाँ त्यस प्रति जनसमुदाय देखिनै अभियानलाई सञ्चालन गरिरहेको समेत उनले बताए ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपालीले मावन अधिकारको नितिलाई लिएर नेपाल सरकारले महिलाका निम्ती नितिहरु बनाएको भएपनि ति सबै कागजै सिमित रहेको बताए । किन भने त्यसको कार्यान्वयन गर्ने पाटो सफल हुन सकिरहेको छैन ।

हिंसाको सवालमा महिला मात्र नभई दलित समुदाय पनि न्यायको पहुँचबाट बञ्चित छ,उनले भने,‘त्यस कारण मानव अधिकारको दृष्टिकोणबाट कुनै पनि हिंसा पिडितलाई न्याय दिउ,जसले पिडकलाई ठुलो सजाए दियौ भने हिंसाको अन्त्य हुन सक्छ भनेर हामी शान्तिको विकल्प छैन,हिंसाको भविष्य छैन भन्ने अभियानलाई अगाडी बढाएका छौँ । ’

त्यस्तै अधिबक्ता मोहन धितालले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि नागरिकहरुले कानुनी राज्यको अनुभुति गर्न नसक्नु ठुलो बिडम्बना भएको बताए ।

उनले संविधानले मौलिक अधिकारमा ग्यारेन्टी गरे अनुसार विभिन्न जातजातीको वर्गीय हिसावले कोटाहरु निर्धारण गरेता पनि राज्य शक्तिको प्रभावमा पर्ने न्यायपालिका,व्यवस्थापिका,कार्यपालिकाहरु सेटिङ्मा चलिरहँदा मौलिक अधिकारहरु कार्यान्वयनमा जान नसकेको बताए ।

मानव अधिकार तथा शान्ति समाज दाङका सस्थापक सभापति डिल्लीराज धिताल हरेक बर्ष महिला हिंसा र मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भैरहेको भन्दै यस्ता खालका क्रियाकलापलाई रोक्न सबै सरोकारवाला आ–आफ्नो क्षेत्रबाट जागरुप हुनुपर्ने बताए ।

नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले जबसम्म समानता न्याय र स्वतन्त्रता प्राप्त हुदैन तब सम्म शान्ती सम्भव नरहेको तर्क गरे । महिला अधिकारकर्मी सुस्मा गिरिले मानव अधिकार दिबस परिणाम मुखी बन्नु पर्ने धारणा राखिन ।

उनले मानव अधिकार तथा शान्ति समाजले महिला माथि हुने राजनितिक हिंसालाई मुद्धाको रुपमा लिएर अभियान चलाउनुपर्ने माग गरिन । उनले भनिन्,‘पुरुषहरुको नेतृत्वले मात्र लोकतन्त्र र मानव अधिकारलाई संस्थागत गर्न सक्दैन,जबसम्म हरेक वर्ग,जातजाति,लिगंको समानुपातिक समृद्धि हुन सक्दैन तबसम्म समृद्धिका यात्राहरु गन्तव्यसम्म पुग्न सक्दैनन् ।’

त्यस अवसरमा राष्ट्रिय अपागं महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष देबा डाँगी,नेपाल पत्रकार महासघ दाङका कोषाध्यक्ष शरद रेग्मी, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुस्प राज मल्ल,जेष्ठ नागरिक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी, राप्ती बबई क्याम्पसका प्रमुख युबराज रावत लगाएतले ऐन,नियम–कानुन बनाउने न्यायपालिका र कार्यपालिकाले नै नियमको कार्यान्वयन नगर्दा मानव अधिकार उल्लघनका घटनाहरु बढ्दै गईरहेको बताए ।

उनीहरुले मानव अधिकारको संरक्षणका सवालमा सबै निकाय गम्भिर बन्नुपर्नेमा समेत जोड दिए । उक्त कार्यक्रममा ओरेक दाङका कार्यक्रम सयोजक कल्पना चौधरी लैगिंक हिंसा,मानव अधिकार उल्लघनका घटनाको बारेमा प्रतिबेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रमको सहजीकरण शान्ति समाजका सचिब अर्मित शर्माले गरेका थिए । दिवसका अवसरमा समाजले आजिबन सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण समेत गरेको थियो ।

 

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस