तुलसीपुर, मंसिर २० । तुलसीपुरमा सुनाखरी सिकाई मेला सञ्चालन हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित माबि कालाखोलामा आउदो पुष १४ गते सिकाई मेला आयोजना हुने भएको हो ।
तुलसीपुर उपमहानगर भित्रका बिभिन्न ८ बिद्यालय तथा तुलसीपुर उपमहानगरपालिकाको कार्यालय गरि ९ वटा संस्थाहरुको संयुक्त आयोजनामा एकदिने सुनाखरी सिकाई मेला सञ्चालन हुन लागेको हो ।
जस अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको कार्यालय सहित माबि कालाखोला, सरस्वती माबि दमारगाउँ, अम्बेश्वरी माबि अम्बापुर, माबि प्रतापकोट, माबि भित्री सक्राम, नवजागरण माबि कुटेचौर, माबि बालापुर र जनज्योती माबि तुहिरनियापुर रहेको माबि कालाखोलाका प्रधानाध्यापक राजिब ओझाले बताए ।
मेलामा नगरभित्रका बिभिन्न आठ बिद्यालयका बिद्यार्थीले आफुले गरेका परियोजना कार्य समेट्ने र बिद्यार्थीहरुलाई ब्यबहारिक सिकाई सिकाउने मुख्य उद्देश्य रहेको बिद्यालयका शिक्षक तथा मेला संचार उपसमिती संयोजक लक्ष्मी न्यौपानेले बताइन ।
त्यस्तै बिद्यार्थी र शिक्षकलाई बिद्यालय भित्र तथा बाहिर शिक्षण सिकाई गर्दा आबश्यक पर्ने ब्यबहारिक ज्ञान प्रदान गर्ने मुख्य उद्देश्य रहेको उनले बताइन ।
उनका अनुसार तोकिएका बिभिन्न आठ बिद्यालयका बिद्यार्थीहरुले समेट्ने परियोजना कार्यलाई स्टलमा राखेर प्रदर्शनी गरिने भएको छ ।
जस्मा मुख्य ८ बिद्यालयमध्ये प्रत्येक बिद्यालयका २ वटासम्म गरि २० वटा स्टल रहने र अन्य अतिथी बिद्यालय गरेर ४० वटा शैक्षिक स्टल रहने छन ।
मेलामा आयोजक बिद्यालयका बिद्यार्थी र शिक्षक तथा अन्य अतिथी गरि करिब सात हजार जनाले सिकाई मेलाको अबलोकन गर्ने लक्ष्य रहेको छ ।