२०८१ बैशाख १३ गते बिहिवार

प्रदेश राजधानी तत्काल नसार्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

बुटवल,मंसिर १८ । नेपाली काँग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।

काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनेको हो ।

पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन काँग्रेसले आग्रह गरेको छ ।

ज्ञापनपत्रमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ ।

अहिलेको निर्वाचनबाट प्राप्त सांकेतिक अभिमतलाई दृष्टिगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीँबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान गरिएको छ ।

कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रतिकूल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन जिल्ला सभापति खाँणले आग्रह गरे ।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *