जाजरकोट,मंसिर १२ । जाजरकोट प्रदेश सभा ‘ख’बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजीव विक्रम शाह चुनावी खर्च विवरण बुझाउने पहिलो उम्मेदवार बनेका छन ।
उनले हिजो दिउँसो निर्वाचन कार्यालय जाजरकोट खलङ्गामा पुगेर चुनावमा लागेको खर्चको विवरण बुझाएका हुन । उनले चुनावमा १४ लाख रुपैयाँ खर्च भएको बताए ।
उनीसँगै कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ जाजरकोटबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका गणेश अधिकारीले पनि आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन । उनले चुनावमा ४२ हजार रुपैयाँभन्दा बढी खर्च भएको विवरणमा जनाएका छन ।
निर्वाचन आयोगका अनुसार चुनाव सम्पन्न भएको एक महिनाभित्र खर्च विवरण कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।
पछिल्लो पटक निर्वाचन आयोगले पालिका चुनाव तोकिएको मितिभित्र चुनावी खर्च विवरण नबुझाउनेहरुको सूची सार्वजनिक गरी वडा सदस्यदेखि मेयरसम्मका लागि निश्चित रकम जरिबाना तोकेको थियो ।
आयोगले तोकेअनुसार प्रतिनिधि सभाका उम्मेदवारले जाजरकोटको हकमा ३६ लाखसम्म र प्रदेश सभाका उम्मेदवारले २१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी प्रावधान रहेको निमित्त कार्यालय प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी नवीन कुमार कठायतले बताए ।
