यमकला भुसाल,
तुलसीपुर, फागुन २४। प्यावसन नेपालका केन्द्रीय महासचिव राजेन्द्र बानियाले अब हरेक विद्यालयले विद्यार्थी र अभिभावकको सोच परिवर्तन गर्न ध्यान दिनुपर्ने बताएका छन् ।
लिटिल हेभन इङलिस मिडियम स्कुल तुलसीपुरको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दे शुक्रवार उनले त्यस्तो बताएका हुन । ‘अब हरेक विद्यालयले समाजको सोच परिवर्तन गर्न जरुरी छ,’ बानियाले भने ‘विद्यार्थी र अभिभावकको सोच परिवर्तन नगर्दासम्म पढाई प्रभावकारी बन्न सक्दैन।’ विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक,विद्यार्थी र शिक्षकको महत्वपुर्ण भूमिका हुने बानियाले बताए । त्यसका लागि शिक्षक मियो वन्न सक्नु पर्ने उनको कथन थियो । ‘अब प्रत्येक विद्यालयले मात्रै पढाउने काम छाडेर विद्यार्थीलाई सिकाउने काम गर्नुपर्छ,’ बानियाले भने ‘विद्यार्थीलाई संस्कार र सस्कृतिको ज्ञान दिनुपनि उत्तिकै आवश्यक छ।’
उनले निजि विद्यालयहरुको आयु छोटो छ र अब केही वर्षमै बन्द हुन्छन भन्ने हल्ला हल्लामै सिमति हुने दाबी गरे । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एमाकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरुमा समान रुपले शिक्षामा सहयोग गर्ने बताए । उनले गुणस्तर र प्राविधिक शिक्षा आजको आवश्यकता भएको हुँदा सबै विद्यालयहरु त्यसमा लाग्नुपर्ने बताए । कार्यक्रममा ऐन प्यावसनका जिल्ला सचिव ठाकुर डाँगी, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी,महेन्द्र चौधरी, पुर्व विद्यार्थी सुरेन्द्रं केसी, छात्रा रञ्जु विष्ट लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका सञ्चालक तथा शिक्षक चिरञ्जीवी न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक कमल सापकोटाले विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हिमाल कडेल र निमप्रसाद गिरीले गरेका हुन ।