तुलसीपुर,कात्तिक २४ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा तुलसीपुरमा ५ दलीय गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन ।
निर्वाचनलाई लक्षित गर्दै बिहिवार बिहान नेपाली कांग्रेस सहित गठबन्धनका उम्मेदवारहरुले तुलसीपुर बजारमा उत्साह जनक सहभागीतामा घरदैलो कार्यक्रम गरेका छन ।
विपक्षीहरूले गठबन्धनका साझा उम्मेदवारहरू एक ठाउँमा आउन नसक्ने दाबी गरिरहेको बेला गठबन्धनका उम्मेदवारहरू एक साथ हिँडेपछि चुनावी सरगर्मी तातेको छ ।
घरदैलो कार्यक्रममा गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरी,दाङ क्षेत्र नं. ३ (क)का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरीले मतदाताको घर–घरमा पुगेर मत मागेका छन ।
स्थानीयवासी,उद्योगी व्यवसायी,नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागितामा भएको घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले आफु लगाएत गठबन्धनका उम्मेदवारहरुले चुनाव जितेमा दाङबासीलाई बिकासको अनुभुति दिलाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन ।
दाङको समृद्धिको विकास,फोरलेन सडक,एयरपोर्ट,खानेपानी शिक्षा,स्वास्थ्यसुधारसगै राजधानीको संरचना दाङमा ल्याउने कुरालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।
त्यस्तै दाङ क्षेत्र नं. ३ (क)का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरी निर्वाचित भैसकेपछि आफुले बनाएको योजना साकार पार्ने नाराका साथ घरदैलो कार्यक्रममा मत माग्ने गरेका छन ।
त्यसक्रममा मतदाताहरुले पश्चिम दाङको विकासका लागि गठबन्धनका उम्मेदवारले चुनाव जित्नु पर्ने भन्दै जितको शुभकामना पनि दिएका छन ।

तस्विर ः शरद रेग्मी ।
