२०८१ असार ३० गते शनिवार

दाङ ३ मा गठबन्धन उम्मेदवारका प्रतिवद्धता –टरिगाउँ एयरपोर्टको बिस्तारदेखि निशुल्क शिक्षासम्मका एजेण्डाहरु

तुलसीपुर,कात्तिक १७ । दाङ निर्वाचन क्षेंत्र नं. ३ का गठबन्धन दलका साझा उम्मेदवारले चुनाबी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

जस्मा टरिगाउँ एयरपोर्टको बिस्तार तथा स्तरउन्नती गर्नेदेखि आफ्नो क्षेत्रमा माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने जस्ता कुराहरु समेटिएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बिहीबार तुलसीपुरमा गठबन्धन दलका उम्मेदवारले साझा चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन ।

उनीहरुको प्रतिबद्धता पत्रमा तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तरउन्नती गर्दै एटिआर–७२ बिमानको उडान गर्न सक्ने क्षमता बनाउने प्रतिवद्धता प्राथमिकतामा रहने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले बताए ।

‘ मेरो पहिलो प्राथमिकता टरिगाउँ एयरपोर्टलाई ‘ए’ लेभलको डोमेष्टिक एयरपोर्ट बनाउने रहेको छ,’ उनले भने ‘ तुलसीपुर– अमेलिया सडक खण्डलाई चारलेनमा विकास गरिने छ ।’

त्यस्तै दंगीशरण साइकिल सर्किट निर्माण गर्ने र यसका लागि धारपानी–सितलपुर,दंगीशरण–सुकैरा,चखौरादेखि पुरन्धारा छहरा जोड्ने दामोदर सडकलाई प्रवद्र्धन गर्ने, माध्यामिक तह तथा प्राविधिक शिक्षा निशुलल्क गराउने, पश्चिम क्षेत्रलाई आधार मानेर प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिर्दै एक मेडिकल कलेज स्थापना गर्ने, दाङ वृहत सिचाई परियोजनालाई अझ व्यवस्थीत गर्दै बाध, बबई लिफ्टििङ,डिपबोरिङ,स्यालो ट्युबेलको व्यवस्था गर्नेलगायतका योजनाहरु प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

भूमि व्यवस्था आयोगमाफर्त स्थानीय तहमा रहेको सुकुम्वासी, हरुवा,चरुवा, मुक्त कमैया,कम्लहरी र भूमिहिनको पहिचान गरि भूमि वितरणका लागि लापूर्जा वितरणलाई प्रभावकारी बनाउने, एक वडा एक उद्यशिलता विकास गरी युवाहरुलाई सहुलियत कर्जा उपलव्ध गराउन, लुम्विनी प्रदेशस्तरिय कल–कारखानाको व्यवस्था गरी युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका एजेण्डाहरु प्रतिवद्धता पत्रमा रहेका छन् ।

संघीयताको कार्यान्वयन, गरिबी निवारण, जलवायु परिवर्तन वातावरण संरक्षण एवं विपद व्यवस्थापन, शिक्षा, सिँचाइ, कृषि र पशुपालन, किसान कल्याणकारी, पशु विकास, सूचना तथा सञ्चारको विकास, युवा तथा खेलकुद, पर्यटन विकास, भौतिक पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको विकास, महिला दलित, भौगोलिक विकटता, समावेशी एवं सशक्तीकरण, भूमि सुधार एवं सुकुम्बासी व्यवस्थापन, पिछडिएको समाज वर्ग एवं समुदायको उत्थान, उर्जा तथा जल प्रवद्र्धन, सुशासन, सहिद, द्वन्द्वपीडित व्यवस्थापन र युवा उद्यमशीलतामा काम गर्ने गरि १६ पृष्ठको साझा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षमा भएको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा क्षेत्र नं. ३ का गठबन्धनका उम्मेदवार दीपक गिरीले राष्ट्र, संविधान र लोकतन्त्र बचाउनका लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको भन्दै गठबन्धनका उम्मेदवारलाई बिजय गराउनका लागि मतदातालाई आग्रह गरेका थिए ।

कार्यक्रममा कस्ले के भने ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता गिरीले दाङको विकासका लागि विगतदेखि नै आफुहरु इमानदारिताका साथ लागेको भन्दै भोलिका दिनहरुमा पनि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
सडक,सिचाइ,कुलो,शिक्षा,स्वास्थलगायतका विकासका कामहरु आफु मन्त्री भएको छोटो समयमा धेरै गरेको भन्दै उनले यस पटक जनताले विश्वास गरेर जिताएर दाङको विकासका लागि काम गर्ने बताएका हुन ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका गिरीले दाङको ५३ हजार हेक्टर सिचाइका लागि आफु मन्त्री भएको समयमा बृहत दाङ सिचाईको योजना सुरुवात गरेको बताए ।

उनले पेटी ठेकेदारकै कारण जिल्लाको मुख्य घोराही तुलसीपुर फोरलेन सडक अलपल पार्ने काम गरेपनि त्यसबाट बच्नका लागि विपक्षीहरुले अनेक जालझेलको काम गरेर प्रचार गर्ने गरेको आरोप लगाएका थिए ।

‘घोराही–तुलसीपुर फोरलेन सडकको मुख्य ठेकेदार इण्डियन हो । त्यसको पेटी ठेकेदार बनेर काम गर्ने र सडक अलपत्र पार्ने काम कस्ले गरेको हो ? त्यो जनताले थाहा पाईसकेका छन,’उम्मेदवार गिरीले भने,‘झुटको प्रचार गरेर कसैले पत्याउने वाला छैनन् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नं. ३ (क) का प्रदेश उम्मेदवार डिल्लीबहादुर चौधरीले दाङमा चार दलबीचको गठबन्धनका उम्मेदवार चढेको डुंगा पार गराउने कि दुर्घटनामा पार्ने सबै जिम्मेवारी मतदाताको हातमा रहेको बताए ।

चार दलका साझा उम्मेदवार चढेको डुंगा डुबेमा आफु मात्रै नभई देश पनि दुर्घटनामा पर्ने हुँदा डुंगा पार गराउँदै संविधानको रक्षा गर्नका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

उनले आफुले प्रदेश सरकारका तर्फबाट दाङको समृद्धिका लागि गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए । ‘ तुलसीपुरको बसपार्क कस्ले बनाएको हो,’ उनले प्रश्न गरेका थिए ‘ यो मेरो पहलमा बजेट परेपछि निर्माणको काम सुरु भएको हो । यस्मा एमालेका तत्कालिन मेयरले झुटको खेति गरिरहेका छन् ।’

त्यस्तै उनले तुलसीपुरका यसअघिका मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई ऋणमा डुबाएको, बिद्युत बक्यौता मात्रै झन्डै एक करोड पु¥याएको भन्दै आलोचना गरेका थिए ।

‘ हिजो उनीहरुलाई नगरपालिकाको मेयर बनाउँदा बिजुली बत्तिसमेट काट्नु पर्ने अवस्था आयो,’ उनले भने ‘भोलि उनले जिते भने प्रदेशसभाको हालतपनि त्यस्तै नबनाउलान भन्न सकिन्न ।’ उम्मेदवार चौधरीले आज तुलसीपुर– घोराही सडक खण्ड बाबु मेयर र छोरा ठेकेदार भएकै कारण अलपत्र अवस्थामा पुगेको भन्दै भोलि फेरि उनीहरुले जितेमा जताततै त्यस्तै दुर्दशा बनाउने सक्ने दाबी गरेका थिए ।

उनले आँफुले रात्री शिक्षाको माध्यमबाट अशिक्षा र गरिबी हटाउन भूमिका खेलेको, दासत्वको रुपमा रहेको कम्लहरी पर्था उन्मुलनमा महत्वपूर्ण भूमिका खेलेको, मन्दिर पुल पुलेसा, भुँयारथान निर्माण गर्दै बिभिन्न जातिय संस्कृति जगेर्नामा भूमिका खेलेको उनले बताए ।

त्यस्तै क्षेत्र नं. ३ (ख) उम्मेदवार धनबहादुर मास्कीले लामो समयको संघर्ष पछिको प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।

उनले उपलव्धी रक्षासँगै पश्चिम दाङको विकासका लागि गठबन्धनका उम्मेदवारहरुले निर्वाचन जित्न आवश्यक रहेको बताए । विगत लामो समयदेखि पश्चिमको विकासका लागि कांग्रेस र माओवादीले पहल गरेको भन्दै अवको विकासका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जनताले निर्वाचन जिताउन आवश्यक रहेको बताएका थिए ।

उनले कुनै दिन नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गिय गिरिजाप्रशाद कोइरालाले मध्यरातमा फोन गरि परिवर्तनको पक्षमा अझैं जोडबलले संघर्षको आँधेबेहेरी सृजनागर्न आग्रह गरेको बताएका थिए ।

अहिले पनि परिवर्तन पक्षधरहरु एक ठाउँमा उभिएको भन्दै यो एउटा लडाइकै मोर्चा भएको हुँदा प्रतिगमनकारीलाई मतदान मार्फत परास्त गर्न उनले आग्रह गरेका थिए ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगी, नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज निर्मल आचार्य, माओवादी केन्द्रका नेता कुबेर वली, राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारी, कांग्रेसका नेता शंकर गिरी, एकीकृत समाजबादीका दाङ जिल्ला इन्चार्ज जोगबहादुर रानालगायतले पाँच दलित गठबन्धनभित्र भएका बिमतीलाई भुलेर राष्ट्र, संबिधान र गणतन्त्रको रक्षाका लागि एकजुट भएर मतदान गर्न आग्रह गरेका थिए ।

उनीहरुले अहिलेको देशको आवश्यकता अनुसार गठबन्धन निर्माण भएको भन्दै गठबन्धनलाई जिताउनका लागि विगतमा भएका तिता कुराहरु भुलेर लाग्नुपर्नेमा जोड दिएका थिए ।

साथै उनीहरुले अहिलेको निर्वाचन हारजितका लागि मात्रै नभएर ंप्रतिगामण र अग्रमण पक्षधरहरुको लडाई भएकाले जनताहरुलाई अग्रगमणको पक्षमा जुट्न आग्रह गरेका थिए ।

कार्यक्रममा सत्ता गठबन्धनको साझा प्रतिवद्धता पत्रमा भएका एजेण्डाका बारेमा नहकुल केसीले प्रकाश पारेका थिए ।

उनले साझा प्रतिवद्धता पत्रमा संघियता र संबिधानको रक्षाका साथै शिक्षा, स्वास्थ, खेलकुद, कृषिको बिकास र युवालाई रोजगारीका लागि स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिनेलगायतका एजेण्डाहरु रहेको बताएका थिए ।

कार्यक्रमको सहजीकरण माओवादीका भिमबहादुर वलीले गरेका थिए ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *