२०८१ असार ३० गते शनिवार

दाङ ३ (ख) मा ‘जनसेना’का कमान्डर मास्की र ‘एमाले दाङका कमान्डर’ बस्नेत मध्य कस्ले – कस्लाई पछार्लान ?

तुलसीपुर, कात्तिक ९ । प्रदेशसभा तर्फ दाङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै मतदाता ३ (ख) मा छन । यहाँ ७९ हजार ९ सय ८९ मतदाता रहेका छन । जसमध्ये ३९ हजार ५ सय ९ पुरुष र ४० हजार ४ सय ८१ महिला मतदाता छन ।

यो निर्वाचन क्षेत्रमा ३३ मतदानस्थल र ९३ वटा मतदान केन्द्र रहेका छन । यहाँ गठबन्धन दलबाट माओबादी केन्द्रका धनबहादुर मास्की र एमालेका हुकुमबहादुर बस्नेतका बीचमा मुख्य प्रतिपष्र्धा हुने अनुमान गरिएको छ ।

यी दुबै संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका ब्यक्तिहरु हुन । मास्की पार्टीका पोलिटब्युरो सदस्य हुन भने बस्नेत पार्टीका जिल्ला अध्यक्ष हुन । तर, ३ (क) का बस्नेतले निर्वाचनमा आँफैले आँफैलाई भने मतदान गर्न पाउने छैनन् ।

मास्की माओबादीको ‘जनयुद्ध’ताका माओबादी ‘जनसेना’का पूर्व डिभिजन कमिसार हुन । मास्की पार्टी अध्यक्ष प्रचण्डाका बिस्वाश पात्र मध्यका एक मानिन्छन । बस्नेत लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आएका ब्यक्ति हुन । उनलाई नजिकबाट चिन्नेहरु निष्ठाको राजनीति गर्ने ब्यक्तिको रुपमा चित्रण गर्छन ।

यो क्षेत्र पश्चिम दाङका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ पर्ने पर्छन । तुलसीपुरका यी वडाहरु मध्य वडा नं. १ मात्रै माओबादीले जितेको छ । अरु सबै वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए ।

त्यसैले गठबन्धनका लागि यहाँ ४६५६ मत मात्रै देखिन्छ भने एमालेको लागि ६५१५ मत रहेको छ । स्थानीय चुनाबलाई आधार मान्दा तुलसीपुरका चार वडामा एमाले गठबन्धन दलहरु भन्दा १८५९ मतान्तरले अगाडि रहको छ ।

तुलसीपुर उपमहानगरपालिका बाहेक अनेत्र सबै गठबन्धन दलहरुको पक्षमा मतको पल्ला भारी छ ।
सात वटा वडाहरु रहेको दंगीशरण गाउँपालिकामा काँग्रेस एक्लैले पालिका अध्यक्ष उपाध्यक्षसहित वडाहरु १, ३ र ६ काँग्रेसले जितेको छ । यहाँ काँग्रेसका वडाध्यक्षहले मात्रै प्राप्त गरेको मत २४४५ रहेका छ ।

त्यस्तै यहाँ माओबादीले एउटा वडापनि जितेको छैन । यहाँ उस्का वडाध्यक्षले प्राप्त गरेको मत १६६५ हो भने एउटा वडाध्यक्षमा मात्रै प्रतिष्पर्धा गरेको नेकपा एकीकृत समाजबादीको २६९ मत प्राप्त गरेको थियो । कुल जोड्दा गठबन्धनका पक्षमा यो पालिकामा ४३७९ मत पुग्छ ।

त्यस्तै यहाँ एमालेले २,४, ५ र ७ नम्बर गरि चार वडाहरु जितेको छ । उस्को पक्षमा २९३९ मत मात्रै छ । गत स्थानीय निर्वाचत अनुसार यो पालिकामा गठबन्धन दंगीशरणमा दलहरु १४४० मतान्तरले अगाडि देखिन्छन ।

त्यस्तै सात वटा वडाहरु रहेको शान्तिनगर गाउँपालिकामा पनि काँग्रेसले पालिका अध्यक्ष, उपाध्यक्षसहित ३ वडाहरु ३, ५ र ७ जितेको छ । यहाँ काँग्रेसका वडाध्यक्षले २४८६ मत प्राप्त गरेका छन् । माओबादीले वडा नं. १ मात्रै जितेको छ । यहाँ सात वडामा माओबादीका अध्यक्षहरुले प्राप्त गरेको कुल मत २६१० रहेको छ ।

चार वडाध्यक्षमा उम्मेदवारी दिएपनि नेकपा एकीकृत समाजबादीले जम्मा ३४ मत मात्रै पाएको छ । गठबन्धनका सबै दलको मत जोड्दा यहाँ ५१३० मत पुग्छ । अर्कौ तर्फ एमालेले यहाँ वडा नं. ४ र ७ जितेको छ । उस्का अध्यक्षका उम्मेदवारले यहाँ कुल ४३२९ मत प्राप्त गरेका छन् ।

त्यसैले गठबन्धन यहाँ जम्मा ८०१ मतान्तरले अगाडि छ । शान्तिनगर २ मा काँग्रेस निकटका स्वतन्त्र उम्मेदवार बिजयी भएका थिए । उनले ७४८ मत प्राप्त गरेका थिए ।

बबई गाउँपालिका जिल्लाको सबैभन्दा पश्चिमको पालिका हो । सात वडाहरु रहेको यो पालिकामा पनि काँग्रेसले पालिकाअध्यक्ष उपाध्यक्ष लगाएत वडा नं. २,५,६ र ७ नम्वर जितेको छ ।

काँग्रेसका वडाध्यक्षहरुले यहाँ ५७११ मत प्राप्त गरेका छन् । एक वडापनि नजितेको माओबादीका वडाध्यक्षहरुको कुलमत १९३३ रहेको छ ।

त्यस्तै एउटा वडा वडा नं. १ मा भिडेको नेकपा एकीकृत समाजबादीले ५ मत मात्रै प्राप्त गरेको थियो ।
यी सबै गठबन्धन दलहरुको मत जोड्दा प्राप्त गरेको कुल मत ७६४९ हो । यो पालिकामा एमाले वडा नं. ३ र ४ जितेको छ । उस्का वडाध्यक्षहरुले यहाँ कुल मत ५०४० रहेको छ ।

काँग्रेस एक्लैले एमाले भन्दा स्थानीय निर्वाचनमा ६७१ मत बढी प्राप्त गरेको छ । गठबन्धन दलहरु सबैको मत जोड्दा एमाले २५०९ मतान्तरले पछाडि देखिन्छ ।

दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा गठबन्धनदलहरु ४७५० मतान्तरले अगाडि छन् । तर, एमाले तुलसीपुरका चार वडाहरुमा १८५९ मतान्तरले अगाडि रहेको छ । जोड घटाउ गर्दा समग्रमा यो प्रदेश सभामा गठबन्धन दलहरु २८९१ मतान्तरले अगाडि देखिन्छन् ।

यही अनुसार मतखसे माओबादीका उम्मेदवार मास्की सुरक्षित रहने छन् । तर, स्थानीय तहको जस्तै गरि मत नखसे परिनाम बस्नेतको पक्षमा जाने संभावना रहन्छ ।

निर्वाचनमा उम्मेदवारको उमेर, हाइट, उचाई जस्ता कुराहरुले उति माने राख्दैन । किनकी आममतदाताले आफ्नो कुरा सुनिदिने, सहयोगी, मिलनसार, बिकास प्रेमी प्रतिनिधित्व अबश्य खोज्ने गर्छन ।

तैपनि उम्मेदवारको ब्यक्तित्व र जिउडालले पनि केहीलाई अवश्य प्रभावित गर्न सक्छ । तुलनागर्दा शारिरीक उमेरमा मास्की बस्नेत भन्दा केही कान्छा छन् । तुलनात्मक रुपमा मास्की बस्नेत भन्दा आकर्षक जिउडाल, हट्टाकट्टा र फुर्तिला देखिन्छन् । बस्नेतको पनि चिटिक्क जिउडाल छ ।

मिठो मुस्कान हाँस्दै उनले एक भेटमा भनेका थिए – ‘हामी बीचको चुनाब पेचिलो हुन सक्छ तर मै चुनाब जित्छु छ।’ त्यस्तै मास्की र उनका समर्थकहरु पनि चुनाब जित्नेमा ढुक्क सुनिन्छन् ।

‘परिवर्तन पक्षधर र यथास्थितिबादी बीचको लडाइमा जहिलै जनताले परिवर्तन पक्षधरलाई साथ दिनेमा हामी ढुक्क छौं,’ माओबादीका एक नेताले भने ‘ यो लडाई अग्रमण कि प्रतिगमण भन्ने पक्ष र बिपक्षमा रहेको हुँदा चुनाब मास्कीजीले जित्नु हुनेमा कुनै शंका छैन ।’

मास्की कुनैदिन ‘जनसेना’का कमान्डर हुँदा जिल्लाका हरेक भूगोल, उकाली वराली, भोकप्यास मात्रै नजिकबाट नियालको पात्र होइनन् र टाउकोमा कफन बाँधेर , ज्यान हत्केलामा राखेर मृत्युसंग पैंठेजोरी खेल्दै राजनीतिक ब्यबस्था परिवर्तनका खातिर लडेका नेता हुन ।

एमाले जिल्ला कमान्डर बस्नेतपनि पार्टीमा लामो समयदेखि निष्ठाका साथ क्रियासिल रहँदै आएका ब्यक्ति हुन । लामो समयदेखि जिल्ला कमिटीमा रहँदै आएपनि पार्टी बिभाजन पछि मात्रै उनले पहिलो पटक एमाले भित्र जिल्ला कमान्ड सम्हाल्न पाएका छन् ।

बिगतमा पार्टीमा खटपट उत्पन्न हुँदा जोगबहादुर रानाको पालामा होस वा टीकाराम खड्काको पालामा होस, पार्टीलाई अप्ठेरो पर्दा केपी गुटका लागि उनी आफ्नो राजनीतिक जीवन दाउमा लगाएर भएपनि गुटका खातिर अल्पमतमा रहँदा पनि सतिसाल झैं एक्लै खडा हुन सक्ने नेता हुन ।

त्यसैले कुनै दिनका ‘जनसेना’का कमान्डर र यतिखेर ‘एमाले दाङको कमान्ड’ सम्हालिरहेका मास्की र बस्नेत बीचको लडाईमा कस्ले– कस्लाई पछार्ला ?

यो आममतदाताका लागि निकै प्रतिक्षित बिषय बनेको छ । त्यसका लागि मंसिर ४ गते हुने प्रदेशसभा सदस्य पदको निर्वाचन कुर्नैपर्ने भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *