तुलसीपुर, कात्तिक ६ । मंसिर ४ गते आउन अब महिना दिन पनि बाँकी छैन । उक्त दिन नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन हुँदैछ ।
जिल्लाको स्थिति नियाल्दा यतिखेर एकातिर सत्ता साझेदार पाँच दलिय गठबन्धन र अर्कौ तर्फ नेकपा एमालेका उम्मेदवार एक्लै चुनाबी मैदानमा उत्रिएको स्थिति देखिन्छ ।
निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरु गाउँ टोल र बस्तिबस्ती पुगिरहेका छन् । मतदाता आफ्नो पक्षमा आकर्षित गर्न उनीहरुले प्रयास गरिरहेका छन् ।
जिल्लामा हुन गइरहेको निर्वाचन मध्य दाङ क्षेत्र नं. ३ (क) को प्रतिष्पर्धालाई पनि आम मतदाताहरु निकै अभिरुचिका साथ नियाली रहेका छन् ।
किनकी यहाँ फिल्डमा उभिएका दुबै उम्मेदवारले आँफुलाई लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको दाबेदार भएको बताउँदै आएका छन् । त्यसैले पनि उनीहरु बीचको प्रतिष्पर्धा पेचिलो बन्ने अनुमान गरिएको छ ।
यहाँ प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं. ३ (क) मा गठबन्धनका तर्फबाट काँग्रेसका लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकाश मन्त्री डिल्लीबहादुर चौधरी र एमालेका नेता तथा तुलसीपुर उपमहानगरपालिकाका यसअघिका मेयर घनश्याम पाण्डेका बीचमा मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
चौधरी र पाण्डे दुबैले आँफुलाई लुम्बिनी प्रदेशको भावी मुख्य मन्त्रीका रुपमा प्रस्तुत गरेका छन्। राजनीतिमा दुबै चतुर खेलाडी मानिन्छन् ।
चौधरीले २०७४ सालको निर्वाचन यही क्षेत्रबाट जितेका थिए । त्यतिखेर उनले साबिक राप्तीका सबै ठाउँ र दाङ जिल्लाभर अनेत्र सबैतिर काँग्रेसले हार्दा एक्लै प्रदेशसभा सदस्य जितेर पार्टीको शाख जोगाएका ब्यक्ति हुन ।
घनश्याम पाण्डेपनि उत्तिकै लोप्रिय छन् । उनी २४ बर्षकै उमेरमा बिगतमा तुलसीपुर नगरको उपमेयरमा निर्वाचित ब्यक्ति हुन । उनले हालसम्म कहिलै चुनाब नहारेको दाबी गर्छन । मन्त्री भएपछि पछिल्लो समय उनले बिकास निर्माणको क्षेत्रमा थुप्रै कामहरु गरेको हुँदा फेरि निर्वाचन जित्ने काँग्रेसका नेताहरु दाबी गर्छन ।
एमालेका पाण्डेपनि पार्टी पंक्तिमा उत्तिकै लोकप्रिय छन् । तर, पछिल्लो समय उनको आलोचना बढ्दो छ । तुलसीपुर उपमहानगरलाई करिब ३५ करोड बढी ऋणमा पारेको भन्दै उनको आलोचना भइरहेको छ ।
अर्कौ तर्फ उनका छोरा अनुप पाण्डेले तुलसीपुर–घोराही चारलेन सडक बिस्तारको काम अलपत्र छोडेको भन्दै चर्कौ आलोचना भइरहेको छ ।
स्वएंम पूर्व मेयर पाण्डेपनि तुलसीपुर उपमहानगरको करोडौं ऋणलाई दायित्व थपिएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् । उनका समर्थकहरु पनि छोराको गल्तिलाई बाबुसंग जोड्न नहुने भन्दै बचाउ गर्दै आएका छन् ।
त्यस्तो मत राख्नेहरु यही कारण पाण्डेलाई मत नआउने कुरा मान्दैनन् । मन्त्री चौधरी र उनका समर्थकहरु जित्नेमा लभगभ सतप्रतिसत ढुक्क सुनिन्छन् । जसको लागि मंसिर४ को प्रतिक्षा अनिवार्य बनेको छ ।
दुबैको बिगत समाजसेवासंग जोडिएको छ । दुबै इन्जियो आइएनजियोमा काम गर्ने क्रममा बिभिन्न देश बिदेशमा पुगेका ब्यक्ति हुन । चौधरी मुक्तकम्लहरी, पछाडि पारिएको भनिएको थारु समुदायमा पौढ शिक्षा, उनीहरुको उत्थान तथा विकाशको क्षेत्रमा लागेकै कारण अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण मानिने ‘रिवोक’ लगाएतका पुस्कारबाट सम्मानित नेता हुन ।
पाण्डे सामुदायिक वन महासंघको नेतृत्व गर्ने क्रममा देश बिदेशमा ख्याति कमाएका नेता हुन । यी दुई बीचको प्रतिष्पर्धालाई निकै रुचिका साथ लिइएको छ ।
यो क्षेत्र अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ११ वडा वडाहरु ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ नम्वर वडाहरु पर्छन ।
६६ हजार ४ सय ८६ मतदाताहरु रहेका छन ।
जसमध्ये ३२ हजार १ सय ६६ पुरुष तथा ३४ हजार ३ सय २० महिला मतदाता रहेका छन । यस क्षेत्रमा २१ मतदान स्थल र ७४ मतदान केन्द्र रहेका छन । गत स्थानीय तहको परिनाम नियाल्दा एक्लै भिडेर पनि एमालेले यहाँ मेयर उपमेयरसहित ३, ६, ८, १३ र १५ पाँच वडाहरु जितेको छ ।
गठबन्धन दल मध्य माओबादीले तुलसीपुर ४ र १२ र काँग्रेसले ५,७,९ र १४ नम्बरमा वडाध्क्ष जितेको छ । एमालेका वडाध्यक्षहरुले पाएको कुल मत जोड्दा ९२०१ पुग्छ भने गठबन्धन दलका वडाध्यक्षको कुल मत १०८२१ पुग्ने गर्छ । यहाँ गठबन्धन दल एमाले भन्दा १६२० मतान्तरले अगाडि देखिन्छ ।
यो योगफलले काँग्रेस उम्मेदवार डिल्लीबहादुर चौधरी सुरक्षित देखिन्छन् ।
त्यसमा पनि अधिकाँस थारु समुदायको मत चौधरीलाई आउने हुँदा चौधरीले नै निर्वाचन जित्ने दाबी काँग्रेस नेताहरुको रहेको पाइन्छ ।
त्यस्तै एमाले नेताहरु स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुरमा एक्लै भिडेर पनि मेयर उपमेयरसहित गठबन्धन भन्दा बढी वडा जितेको हुँदा अब चुनाब हार्ने कुरै नहुने भन्दै चुनाब पाण्डेले नै जित्ने दाबी गर्दै आएका छन् ।
