तुलसीपुर , कात्तिक २ । तुलसीपुरमा किशोर– किशोरी हत्या काण्ड अनुसन्धनका क्रममा प्रहरीले बुधबार बिहान थप एक जनालाई पक्राउ गरेको छ ।
एकै साथ हत्या गरेको अवस्थामा फेला परेका मध्य १४ बर्षीय शरद आचार्यका मिल्ने साथीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
शरद र उनले एउटै फेसबुक आइडी प्रयोग गरेको तथ्य पत्ता लागेपछि उनलाई पक्राउ गर्नु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
‘एउटै फेसबुक दुई जनाले संग संगै चलाएको पाइयो,’ ती प्रहरी अधिकारीले भने ‘ कतै उनैले शरदका गोप्य सूचना लिक गरे कि, भन्ने आशंका उब्जिएको छ ।’
प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगले मंगलबार स्थानीय जंगलमा रोशनी र शरदले प्रयोग गर्ने मोवाइल फेला पारेको थियो । घटना अनुसन्धनमा सहयोग पुगोस भनेर बाँकेको कोहलपुरबाट असोज ३० गते तालिम प्राप्त कुकुर तुलसीपुरमा ल्याइएको छ ।
ती दुबै मोवाइलहरु अनुसन्धानका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले बताए । ती मोवाइलको अध्यनले घटना अनुसन्धान थप सजिलो हुने प्रहरीको विश्वास छ ।
पोलिग्राफ टेष्ट गर्दै प्रहरी
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा बिभित्स हत्या गरिएका किशोर किशोरी हत्या काण्ड अनुसन्धान गर्न प्रहरीले पक्राउ परेका केहीमाथि पोलिग्राफ टेष्ट गर्न लागेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले पक्राउ परेकाहरु मध्य दुई जनामाथि बुधबार पोलिग्राफ टेष्ट गर्न थालिएको जानकारी दिए । प्रहरीले मंगलबार नै पोलिग्राफ इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याइसकेको थियो ।
रोशनी र शरदको शब फेला परेको दिन असोज ३० गते पक्राउ परेका हेटौंडाका टिपर चालक र उनको बयानका आधारमा पक्राउ परेका सल्याका उनका साथीमाथि पोलिग्राफ टेष्ट गरिने प्रहरीले बताएको छ । पोलिग्राफ टेष्टको प्रयोग पछि उनीहरुले झुट बोले नबोलेको पत्ता लगाउन सहज हुने प्रहरी अधिकारीको विश्वास छ ।
स्थानीय १५ बर्षीया रोशनी महतरा र १४ बर्षीय शरद आचार्य स्थानीय जंगलको चिरोमा हत्या पछि शब माटोले पुरेको अवस्थामा असोज ३० गते फेला परेका थिए ।
रोशनी र शरद २७ गते राति बेपत्ता भएका थिए । शरदकी माउली हजुरआमाले २८ गते स्थानीय दमारगाउँ प्रहरी चौकीमा नाति हराएको बारे निबेदन दिएकी थिइन । उनीहरुको शब तीन दिन पछि असोज ३० गते एकै ठाउँमा चिरोमा फालेको अवस्थमा फेला परेको थियो ।
कात्र्तिक १ गते उनीहरुको शब तुलसीपुर – १२ सितलपुरस्थित बबई नदी घाटमा एकै साथ अन्तेष्टि गरिएको थियो ।
यो पनि पढ्नुहोस ।
रोशनी र शरदले प्रयोग गर्ने मोवाइल कुकुरले जंगलमा भेटायो
