तुलसीपुर, असोज २४ । निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभामा छ स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभातर्फ ३ (क) मा दुई स्वतन्त्रसहित नौ र ३ (ख) मा चार स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी परेको छ ।
यहाँ प्रतिनिधि सभा सदस्य पदका लागि गठबन्धन दलबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरुका बीचमा मुख्य प्रतिपष्र्धा हुने आँकलन गरिएको छ । उनीहरु बाहेक राप्रपाका ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णवीर नेपाली, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी, मंगोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीका रणेन्द्रविक्रम केसी, नेपाल मजदुर किसान पार्टीका वीरबहादुर चौधरी र नेकपा मालेका शालिकराम चौधरीको उम्मेदवारी परेको छ ।
यी बाहेक स्वतन्त्र रुपमा हेमन्तबहादुर मल्ल, लिलाधर न्यौपाने, भुपबहादुर भण्डारी, तिलक खड्का, टोपेन्द्र बस्नेत र घनश्याम डाँगीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा तर्फ ३ (क) गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेले उम्मेदवारी दिएका छन् ।
यी दुबै उम्मेदवारले आँफुलाई लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको रुपमा प्रस्ततु गरेका छन् । मुख्य प्रतिपष्र्धा उनीहरुकै बीचमा हुने अनुमान गरिएको छ ।
उनीहरु बाहेक राप्रपाका हंसराज केसी, नेपाल लोकतान्त्रिक पार्टीका सागर बिक, लोकतान्त्रिक समाजवादी पार्टीका वासुदेव रेग्मी, मंगोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर पुन र राष्ट्रिय जनमुक्ति पार्टीका चहरमान थारुले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा माइते चौधरी र सुमन बस्यालले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं. ३ (ख) मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्के र नेकपा एमालेका हुकुमबहादुर बस्नेतले उम्मेदवारी दिएका छन् ।
मास्के माओबादीका पूर्व डिभिजन कमाण्डर हुन भने बस्ने एमालेका जिल्ला अध्यक्ष, यी दुई कै बीचमा मुख्य प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । यी बाहेक यहाँ राप्रपाका भुपाल रावत, लोकतान्त्रिक समाजवादी पार्टीका राजन डाँगी र मंगोल नेशनल अर्गनाइजेशनका सुशील चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा भुपबहादुर बिक, दुर्गाबहादुर ओली, गणेशबहादुर बस्नेत र अमृताकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् ।
दाङमा प्रतिनिधिसभा सदस्य पदका लागि ४४ र प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ ४६ जनाको उम्मेदवारी परेको छ ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल ९० जनाको उम्मेदवारी परेको छ ।
तीन सिटमा ४४ जना र प्रदेश तर्फको ६ सिटमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ४४ जना पुरुष छन भने २ जना महिला छन ।प्रमुख दल बाहेक १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि सात जनाको उम्मेदवारी परेको छ ।
आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको प्रतिनिधि सभा सदस्य सदस्य र प्रदेश सभा सदस्य पदका लागि जिल्लाका तीन निर्वाचन क्षेत्रमा आइतबार कुल ९० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जानकारी दिएको छ ।
