२०८२ असार ६ गते शनिवार

समन्वय नगरिएको भन्दै कार्यपालिका सदस्यले गरे कार्यक्रम बहिष्कार

रुकुमपश्चिम, भदौ २८ । रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले नगरपालिकाले आयोजना गर्ने कार्यक्रम बहिष्कार गर्ने जनाएका छन्।

नगरप्रमुखले समन्वयबिनै कार्यक्रम गरेको भन्दै उनीहरूले आफ्नै नगरपालिकाका कार्यक्रम बहिष्कार गर्ने जनाएका हुन्।

आफूहरूसंग समन्वय नै नगरेर नगरप्रमुख महेन्द्र केसीले महत्वपूर्ण कार्यक्रम र निर्णय गर्न थालेपछि समन्वयबिनाका कार्यक्रम बहिष्कार गरेको नगर उपप्रमुख विमलकुमार पुनले बताए ।

अधिकांश कार्यक्रमबारे आफूहरूले पछि मात्र सूचना पाउने गरेको उनले जनाउए ।

नगरपालिकाबाट हुने कार्यक्रममा नगरप्रमुखले आफूहरूसँग समन्वय नगरेको, कार्यपालिकाको निर्णय किर्ते गरेको, आवश्यकताभन्दा बढी कर्मचारीलाई सरुवा अनुमति दिएको जस्ता आरोप उनीहरूले लगाएका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार भएर निर्वाचित उपप्रमुख र माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यलाई कयौँ कार्यक्रममा जानकारी नहुने गरेको पुनको आरोप छ।

तत्काललाई नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने नेकपा एस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिको अडान रहेको वडा नम्बर ६ का वडाध्यक्ष भानु मल्लले बताए ।

प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा नगर कार्यपालिकाको किर्ते निर्णय पेस गरिएको, दरबन्दीभन्दा बढी कर्मचारीलाई सरुवा अनुमति दिएको, डोजर दररेट छलफलबिना बढाइएको, करार अवधि सकिएका कर्मचारीसँग थप सम्झौता नगरेको, रोजगार सहायक र सूचना प्रविधि अधिकृतको आवेदन लिएको लामो समयसम्म सर्ट लिस्टसमेत निकाल्न नसकेकोलगायतका आरोप माओवादीबाट निर्वाचित जनप्रतिनिधिको छ।

नगरप्रमुखले एकलौटी गर्न खोजेको नेकपा माओवादी केन्द्र स्थानीय तहका प्रमुख सचेतक समेत रहेका वडाध्यक्ष मल्लले बताए ।

यसैबिच मुसीकोट नगर कार्यपालिकाका १७ जना सदस्यले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन्।

नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएपछि एउटा पनि कार्यपालिका बैठक बस्न नसकेको र महत्वपूर्ण निर्णयहरू हुन नसकेको भन्दै उपप्रमुख विमल पुनसहित बहुमत कार्यपालिका सदस्यले आइतबारदेखि तीन दिनभित्र कार्यपालिका बैठक बोलाउन आग्रह गरेका हुन्।

शिक्षा शाखा प्रमुख बिनाराम खड्कालाई निमित्तप्रमुख प्रशासकीय अधिकृत तोक्दा कार्यपालिकाको निर्णयअनुसार भनी पत्र लेखिएको, उपसचिवको दरबन्दी कायम भएको नगरपालिकामा उपसचिव हाजिर हुन आउँदा हाजिर गराउन नसकिने भनी पत्र लेखिएको, कर्मचारीको सहमति अनुमति दिइएको र कार्यपालिकाका निर्णयबिना भएका ठेक्का टेन्डरलाई कार्यपालिका बैठकका एजेन्डा बनाउन बहुमत सदस्यले अनुरोधसमेत गरेका छन्।

नगर कार्यपालिका प्रवक्ता समीरजङ्ग मल्लले समन्वयबाटै काम भइरहेको बताए ।

कार्यपालिकाका सबैसंग समन्वय र छलफल गरेर निर्णय भइरहेको उनले बताए । नगरको विकासमा एकजुट हुने बेलामा अल्पमत र बहुमतको रटान त्याग्न उनले अनुरोध गरे ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *