२०८२ असार ७ गते आइतवार

एमाले प्रबेश गरे बुद्धिप्रकाश चौधरी

तुलसीपुर , भदौ १९ । नेपाली काँग्रेस दाङका शहिद पुत्र बुद्धिप्रकाश चौधरी नेकपा एमालेमा पार्टी प्रबेश गरेका छन् । उनी संगै कांग्रेसका क्षेत्रीय प्रतिनिधि चित्रम चौधरीपनि एमाले प्रवेश गरेका छन् ।


दाङ क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति श्रीनारायण चौधरीको माघ २ गते तत्कालिन समयमा नेकपा माओबादीले हत्या गरेका थिए । राप्ती गाउँपालिका अन्तरगत मौरीघाटमा शहिद श्रीनारायणको शालिक पूर्व पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले अनाबरण गरेका थिए । बुद्धिप्रकाश श्रीनारायणका कान्छा छोरा हुन ।


यो पटक काँग्रेसले बुद्धिप्रकाशका माइला दाइ लक्ष्मण चौधरीलाई दाङ निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभामा समानुपातिक सभासदको रुपमा नाम सिफारिस गरेको छ । बुद्धिप्रकाशका जेठा दाइ टंकनाथ चौधरी पूर्व महाधिबेशन प्रतिनिधि हुन ।
बुद्धिप्रकाश काँग्रेसको १४औं महाधिबेनमा जिल्ला उपसभापति पदमा चुनाब लडेर पराजित भएका थिए ।


त्यस्तै उनी गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसकै उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका थिए । गुलाब चुनाब चिन्हबाट बुद्धिप्रकाश चुनाव लडेका थिए । काँग्रेसले पराजय भोग्नुको कारण उनकै बागी उम्ेदवारीलाई मान्ने गरिन्छ । त्यही भएर काँग्रेसले उनलाई पार्टीले कारबाही गरेको थियो ।


स्थानीय एक काँग्रेस नेताका अनुसार गत बर्ष माघ २ गते आफ्नो बुवाको स्मृति दिवसमा दिन बुद्धिप्रकाश मौरीघाटमा बुवाको शालिक भएको ठाउँमा गाडिएको नेपाली काँग्रेसको झण्डा फालेर राष्ट्रिय झण्डा गाडेका थिए । जतिखेर उनले आफ्नो बुवा नेपाली काँग्रेस नभएको जिकिर गरेको स्थानीय काँग्रेसका एक नेताले जानकारी दिए ।


काँग्रेस राप्ती गाउँपालिकाका सभापति बिद्याशरण चौधरीका अनुसार पार्टीमा बुद्धिप्रकाशको कुनै योगदान नै थिएन । ‘पार्टीले कारबाही गरेका ब्यक्ति अरु पार्टीमा जानु कुनै नौलोकुरा होइन,’ उनले भने ‘ बुवाको योगदान पार्टीमा ठूलो थियो, तर सबै सन्तान एकै हुन्छन् भन्नु मुर्खता हो ।’


उनी २०७४ सालकै स्थानीय तह निर्वाचनका क्रममा राप्ती टेक्निकल कलेजमा लेखापालको जागिर छोडेर गाउँपालिकाको उम्मेदवार बन्न चाहेका थिए । टिकट नपाएपछि उनले बागी उम्मेदवारी दिने प्रयास गरेपनि काँग्रेसका नेताहरुले संझाएका थिए । तर, यस पटक पनि उनले टिकट नपाएपछि रुष्ट बनेको हुन सक्ने अर्का एक नेताले बताए ।


‘ पार्टीमा जहिले निहु खोजी रहने यस्ता झारपात अन्य पार्टीमा गएकै राम्रो,’ स्थानीय एक नेताले भने ‘ जहिले तनाब दिइ रहने अरु एक दुई जना त्यस्तै मान्छेपनि अरु पार्टीमा गए हाइसञ्चो हुने थियो ।’ मंसिर ४ गते निर्वाचनको मिति घोषणा भइ सकेको समयमा काँग्रेस शहिद पुत्र एमालेमा प्रबेश गर्नुलाई एमाले नेताहरु भने ठूलो सफलता मान्न सकिने बताएका छन् ।


‘ काँग्रेस भित्रका एक सच्चा नेता शहिद श्रीनारायणका छोरासमेत एमालेमा प्रबेश गरेपछि अब काँग्रेसमा के नै बाँकी रह्यो र रु’एमालेका एक नेताले प्रश्न गरे ‘यसले अब दाङमा एमालेको बिजयको झण्डा फहराइ सकेको स्पष्ट संकत गरेको छ ।’
त्यस्तै एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले बुद्धिप्रकाश चौधरी एमालेमा प्रबेश गर्नुले एमाले प्रतिको लहर स्पष्ट हुने दाबी गरे । उनका अनुसार एक सय बढी मानिसहरु आइतबार सिशहनियाको पिपरीमा आयोजित कार्यक्रमबाट एमालेमा पार्टी प्रबेश गरेका थिए ।

एमाले पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरी, पोलिटव्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्य गंगा थारु, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतले नव प्रबेशीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *