दाङ, भदौ १२ । रुकुम पश्चिममा पहिरोमा परेका तीन आमाछोरीको उद्धार पछि अस्पताल पठाइएको छ ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ मैतेस्थित माइती घरबाट रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. १४ पिपलचौरस्थित घर फर्कने क्रममा ३० बर्षीया बालमती राना, उनकी जेठी छोरी १२ बर्षीया तिर्सना र २ बर्षीया प्रतिक्षा रानालाई पहिरोले पुरेको थियो । दिउँसो १ बजेतिर पहिरोले पुरेका उनीहरुको बेलुका साढे ५ बजेतिर उद्धार गरि जिल्ला अस्पताल जाजरकोट तर्फ पठाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।
माइती घरबाट घर तर्फ आउँदै गरेका तीन आमा छोरी ठूलो बर्षा भएपछि रुकुम पश्चिमको आठबीसकोट – १४ स्थित छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न भनेर गएका थिए । उनीहरु ओता लागेको समयमा माथिबाट पहिरो झरेर घर पुरेको थियो । उद्धार गरिएका तीनै जना आमा छोरीको अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ । घटनास्थल जाजरकोटदेखि नजिक पर्छ ।
पहिरोमा पुरिएको सूचना पाउनासाथ उद्धारको लागि प्रहरी चौकी पुर्तिमकाँडा र इलाका प्रहरी कार्यालय आठबिसकोबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
त्यस्तै सानी भेरी ५ मा तीन घरमा पहिरोले क्षति पु¥याएको छ । स्थानीय ८ बर्षीया सुष्मा कुसारीको पहिरोका कारण दाहिने खुट्टा भाँचिएको प्रजिअ घिमिरेले बताए । आइतबार दिउँसोको पहिरोले दुई वटा भैंसी पुरेर मारेका छन् ।
