तुलसीपुर, साउन २९ । घोराहीको पुरानो बसपार्कमा निर्माण गरिएको झन्डै ३१ करोड लागतमा निर्मित बहुउदेश्य सभाहलको आइतबार उद्घाटन भएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभाहलको उद्घाटन गरेका हुन ।
यो सभाहल नेपाल सरकारको २६ करोड ७७ लाख र दाङ जिल्ला उद्योग बाणिज्य संघको २ करोड ६५ लाख लागतमा निर्माण भएको हो । १२ कठ्ठा क्षेत्रफलमा निर्मित सभाहलमा आठ सय मानिस अटाउन सक्ने क्षमताको छ । दाङ जिल्ला उद्योड बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले सभाहलमा सात सय ६५ कुर्सीहरु राखिएको जानकारी दिए ।
तत्कालिन घोराही नगर विकाश समितिको यो जग्गामा २०७४ सालदेखि सभाहल निर्माणको काम सुरु भएको थियो । तत्कालिन नगर विकाश समितिका अध्यक्ष विकाश अग्रवालले २०७९ साल फागुन ८ गते सभाहलको सिलन्यास गरेका थिए । त्यतिखेर बाणिज्य संघको अध्यक्ष मधुसुदन बैद्य थिए ।
सभाहल निर्माण गर्ने उदेश्यले बाणिज्य संघले २०७९ साल घोराहीमा ब्यापारिक मेला लगाएको थियो । त्यसैबाट संकलित रकमले सुरुमा बाणिज्य संघले सभाहल निर्माण गर्ने उदेश्य लिएको भएपनि पछि सरकारले लगानी गरेको थियो ।
बाणिज्य संघको नेतृत्वमा उक्त जग्गामा बसोबास गरेका सुकुम्बासीको ब्यबस्थापन, पर्खाल निर्माण, जग्गा छुट्याउनेदेखि सभाहल निर्माणको नक्शाङ्कन लगाएका काम भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । सभाहल लिफ्टसहितको छ । तर, अझैं लिफ्ट भने राखिसकिएको छैन ।
माथि डेकोरेसनका केही कामहरु बाँकी रहेको हुँदा शहरी सदनलाई सभाहल हस्तान्रण हुन बाँकी रहेको अध्यक्ष बुढाथोकीले बताए । तत्कालिन समयमा नगर विकाश समिति संग बाणिज्य संघले गरेको सहमति पत्रमा नाफा घाटा दुबैले बेहोर्ने गरि संयुक्त रुपमा सभाहल सञ्चालन गर्ने सहमती रहेको छ । अहिले नगर विकाश उपमहानगरपालिका मातहत आएको हुँदा बाणिज्य संघ र नगरले संयुक्त रुपमा सभाहल सञ्चालन गर्ने छन् ।
त्यस्तै नजिकैको थप सात कठ्ठा क्षेत्रफलको जग्गामा पार्किङसहितको ब्यापारिक कम्पिलेक्स बनाउने योजना रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यसबारे मन्त्री चौधरीको ध्यानाकर्षण गराइएको अध्यक्ष बुढाथोकीले बताए ।
कार्यक्रम अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको हो । मन्त्री चौधरी प्रमुख अतिथिकिा रुपमा सभाहल उद्घाटन गर्न आएपछि नेकपा एमालेका नेताहरुले भने कार्यक्रम बहिस्कार गरेका थिए ।